नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि स्याङ्जाबाट ५२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । असोज १८ गतेदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रबाट खुला तथा विभिन्न समावेशी समूहअन्तर्गत प्रतिनिधि निर्वाचित भएका हुन् ।
असोज १२ गतेदेखि सुरु भएको क्षेत्रीय अधिवेशनबाट क्षेत्र नं. १ मा २५ र क्षेत्र नं. २ मा २७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । खुला, महिला, युवा, दलित, जनजाति, खस–आर्य, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा श्रमिकलगायत क्लस्टरबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
क्षेत्र नं. १ मा जिल्ला सभापति राजु थापाले सर्वाधिक १ हजार १७ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा १ हजार ५ सय ६४ मतदाता रहेकामा १ हजार ४ सय ६५ मत खसेको थियो ।
क्षेत्र नं. २ मा भावगतप्रकाश मल्लले सर्वाधिक १ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा १ हजार ८ सय ३६ मतदाता रहेकामा १ हजार ७ सय ५३ मत खसेको थियो ।
क्षेत्रीय नेतृत्वतर्फ क्षेत्र नं. १ को सभापतिमा डोलराज पोख्रेल निर्वाचित भएका छन् । उनले ८ सय ३० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामचन्द्र रेग्मीले ५ सय ८८ मत पाएका थिए ।
क्षेत्र नं. १ प्रदेशसभा ‘क’को सभापतिमा दिपेन्द्र केसी र ‘ख’को सभापतिमा कुमबहादुर गुरुङ निर्वाचित भएका छन् । केसीले ४ सय ७४ मत पाउँदा उनका प्रतिस्पर्धी बोधराज अर्यालले २ सय ६१ मत पाए । गुरुङले ३ सय ९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नवीन ढकालले २ सय ६५ मत प्राप्त गरे ।
क्षेत्र नं. २ प्रदेशसभा ‘क’को सभापतिमा यामप्रसाद अधिकारी ‘लक्ष्मण’ निर्वाचित भएका छन् । उनले ४ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी छवि आलेले ३ सय १६ मत पाए । प्रदेशसभा ‘ख’को सभापतिमा चन्द्र राना निर्वाचित भएका छन् । रानाले ६ सय ३७ मत पाउँदा उनका प्रतिस्पर्धी शालिकराम बस्यालले २ सय ९२ मत प्राप्त गरे ।
यसपटकको अधिवेशनमा कांग्रेसका विभिन्न तहमा युवा पुस्ताको सहभागिता पनि देखिएको छ । महाधिवेशन प्रतिनिधिदेखि स्थानीय र प्रदेश तहका विभिन्न पदमा युवाहरू निर्वाचित भएका छन् । क्षेत्र नं. १ बाट प्रकाश तिवारीसहित विभिन्न युवा उम्मेदवार महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
क्षेत्रीय अधिवेशनमा खुला र समावेशी समूहका विभिन्न पदमा प्रतिस्पर्धा भएको थियो । निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिले काठमाडौंमा सुरु भएको १५औँ महाधिवेशनमा स्याङ्जाको प्रतिनिधित्व गर्नेछन् ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि पराजित उम्मेदवारहरूले पनि लोकतान्त्रिक प्रक्रियाअनुसार परिणाम स्वीकार गर्दै निर्वाचित उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
क्षेत्रीय अधिवेशनसँगै स्याङ्जाबाट कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको प्रक्रिया टुंगिएको कांग्रेस स्याङ्जाले जनाएको छ । निर्वाचित प्रतिनिधिहरू काठमाडौं पुगिसकेका छन् ।















