कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटभन्दा तल रहेको पुल आइतबार बिहान बाढीले बगाएको हो ।
ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बाढीले बगाएको नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले पनि पुल बाढीले बगाएको पुष्टि गरे । उनका अनुसार उक्त पुल बेलिब्रिज प्रकारको थियो र चारपांग्रे सवारीसाधन त्यसैबाट मिर्मी र हर्मिचौरतर्फ आवतजावत गर्दै आएका थिए ।
‘बेलिब्रिज टाइपको पुल थियो, चारपांग्रे गाडीहरू त्यही पुलबाट वारपार गर्थे, आज बिहान ६ बजेतिर बाढीले बगायो,’ एसपी बोगटीले भने ।
पुल बगेपछि स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौरबीचको सवारी आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ ।















