स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका कृषक बोधराज अर्यालले उत्पादन गरेको कफीको बीउ अन्तरिक्ष पुगेर फर्किएको छ । अरविका जातको उक्त बीउ जापानमार्फत अन्तरिक्षमा पठाइएपछि पुनः नेपाल ल्याइएको हो ।
अर्यालको ‘फार्म्स प्यासन’ ब्रान्डअन्तर्गत उत्पादन गरिएको कफी बीउ नेपालबाट पहिलो पटक अन्तरिक्षसम्म पुगेको दाबी गरिएको छ । २०८२ वैशाखमा जापान पठाइएको बीउ साउन महिनामा अन्तरिक्षमा पुगेको र करिब एक वर्षपछि गत चैत १५ गते नेपाल फर्काइएको बताइएको छ ।
कृषकका छोरा उबित अर्यालका अनुसार हाइड्रोजन बेलुनमार्फत पठाइएको बीउ करिब २७ किलोमिटर उचाइसम्म पुगेको थियो । त्यहाँ तीन घण्टाजति राखेर पुनः पृथ्वीमा फर्काइएको उनले बताए । बीउसँगै नेपालको झण्डा पनि अन्तरिक्षमा पुर्याइएको थियो ।
अन्तरिक्षबाट फर्किएको बीउ वैशाख ५ गते अर्यालको करेन्डाँडास्थित नर्सरीमा रोपिएको छ । जापानको ताकुशिमा विश्वविद्यालयले अनुसन्धानका लागि उक्त बीउ अन्तरिक्षमा पठाएको जनाइएको छ ।
कृषक अर्यालका अनुसार अन्तरिक्षमा माइनस २८.१ डिग्री सेल्सियससम्म पुगेको तापक्रमले बीउमा कस्तो असर पार्छ भन्ने अध्ययन गर्न प्रयोग गरिएको हो । रातो चेरी, पार्चमेन्ट र ग्रीन बिन गरी तीन प्रकारका २० ग्राम कफी बीउ पठाइएको थियो ।
हाल पार्चमेन्ट बीउ नर्सरीमा उमार्न राखिएको छ भने रातो चेरी र ग्रीन बिन प्रदर्शनीका लागि सुरक्षित राखिएको छ । अन्तरिक्षको न्यून गुरुत्वाकर्षण र फरक वातावरणका कारण बीउको संरचना, वृद्धि र उत्पादन क्षमतामा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।
नर्सरीमा रोपिएको बीउ करिब ६० दिनभित्र उम्रने अपेक्षा गरिएको छ । उम्रिएपछि बिरुवालाई छुट्टै बगैंचामा सारेर थप परीक्षण गरिने तयारी छ ।
अर्यालले विगत १०–१२ वर्षदेखि वार्षिक करिब एक टन कफी जापान निर्यात गर्दै आएका छन् । आफ्नै उत्पादनसँगै स्थानीय किसानबाट खरिद गरिएको कफी पनि विदेश पठाउँदै आएका छन् ।














