स्याङ्जाका पत्रकार हिमाल न्यौपाने काठमाडौँमा सम्मानित भएका छन् । नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा शनिबार उनलाई उत्कृष्ट जिल्ला संवाददाताको रूपमा सम्मान प्रदान गरिएको हो ।
नेपालको पहिलो टेलिभिजन संस्थाका रूपमा परिचित नेपाल टेलिभिजनका लागि व्यवसायिक, जिम्मेवार र जवाफदेही ढंगले निरन्तर समाचार सम्प्रेषण गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै न्यौपानेलाई यस वर्षको उत्कृष्ट संवाददाताका रूपमा छनोट गरिएको जनाइएको छ ।
फोटोग्राफर मञ्च स्याङ्जाका अध्यक्षसमेत रहेका न्यौपाने लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनी पछिल्लो चार वर्षदेखि नेपाल टेलिभिजनको स्याङ्जा जिल्ला संवाददाताका रूपमा कार्यरत छन् ।
न्यौपानेले २०६९ सालदेखि स्याङ्जाबाट पत्रकारिता सुरु गरेका हुन् । यस क्रममा उनले एग्रोटाइम मिडिया, कृषि टेलिभिजन र ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै अनुभव बटुलेका छन् । हाल उनी नेपाल टेलिभिजनमार्फत स्याङ्जाका गतिविधि राष्ट्रिय दर्शकमाझ पुर्याउँदै आएका छन् ।














