स्याङ्जाको फेदीखोला गाउँपालिकामा चिया खाजा घरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत बुधबार राति करिब २ बजे फेदीखोला गाउँपालिका–२ स्थित गंगा कुमारी थापाले सञ्चालन गरेको चिया खाजा घरको मूल ढोका फोडी चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरी चौकी फेदीखोलाबाट खटिएको टोलीले फेदीखोला गाउँपालिका–१ कुभिण्डेबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ पर्ने व्यक्ति सुनसरी धरान उपमहानगरपालिका–१५ पानमारा स्थायी घर भई हाल फेदीखोला गाउँपालिका–२ मा रहेको एक कृषि फार्ममा काम गर्दै आएका ३४ वर्षीय सन्देश गुरुङ रहेका छन् । उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नकबजनी चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।














