स्याङ्जाको वालिङमा बुधबारदेखि नवौं चरणको वालिङ महोत्सव सुरु हुँदैछ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको हो ।
गण्डकी प्रदेशस्तरीय यो महोत्सवले स्थानीय उत्पादन, व्यापार र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । वालिङ खेलमैदानमा आयोजना हुने महोत्सवका लागि झण्डै चार सय वटा स्टल निर्माण गरिएको छ ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा, औद्योगिक र व्यापारिक क्षेत्रका विभिन्न स्टल रहनेछन् । कृषि, कृषि औजार र हस्तकलासँग सम्बन्धित ४० भन्दा बढी स्टल निःशुल्क व्यवस्था गरिएको छ भने स्थानीय व्यापारीलाई ३० प्रतिशतसम्म छुट दिइएको संघकी वरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गानाले बताइन् ।
महोत्सवबाट एक करोड ६८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवमा कुल खर्च एक करोड १४ लाख ५१ हजार रहने र करिब ५३ लाख ४९ हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको संघका सचिव तथा प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनालले बताए । महोत्सव अवधिभर १० करोड रुपैयाँ बराबरको अल्पकालीन कारोबार र करिब तीन लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।
महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट महोत्सवमध्ये एक मानिने वालिङ महोत्सव माघ २५ गतेसम्म, कुल १२ दिन सञ्चालन हुनेछ ।














