फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ । स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले शुक्रबार ती कार्यालय औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने जिम्मेवारी सबैको साझा भएको बताउँदै उनले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
निर्वाचन आयोगले जिल्ला अदालत स्याङ्जाका न्यायाधीश गौतमलाई स्याङ्जाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत कार्यालयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालय परिसरमा स्थापना गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय वालिङ नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको छ । यस क्षेत्रमा निर्वाचन अधिकृतको जिम्मेवारी कानुन उपसचिव ऋषि पौडेललाई दिइएको छ । कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।
दुवै कार्यालय सञ्चालनमा आएसँगै उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, सामग्री व्यवस्थापन तथा भण्डारणदेखि मतगणनासम्मका सम्पूर्ण कार्य यही कार्यालयमार्फत हुने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पनि निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले निर्वाचन सफल बनाउन पत्रकार तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिताप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । निर्वाचन आयोगका अनुसार दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । जसमध्ये एक लाख २२ हजार ४६४ पुरुष, एक लाख २६ हजार ३५१ महिला र एक जना अन्य मतदाता छन् ।
क्षेत्र नम्बर–१ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर–२ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ संवेदनशील र ७२ सामान्य श्रेणीमा वर्गीकरण गरेको छ । जिल्लाभर १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् ।














