स्याङ्जा प्रहरीले करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद गरेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत गल्याङ नगरपालिका–१ राम्दीमा प्रहरीले नियमित चेकजाँचका क्रममा बिना बिलका खाद्यवस्तु बरामद गरेको हो ।
अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले मंगलबार बिहान बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९५६३ नम्बरको यात्रुबाहक बस जाँच गर्दा बिना बिलका खाद्य सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
बसबाट निलो रंगको रेडबुल १५ कार्टुन (३६० पिस), स्निकर्स चकलेट ९६ प्याकेट (२८८ पिस) र किण्डर जोय चकलेट २४ प्याकेट (१९२ पिस) बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीको अन्दाजी मूल्य ७७ हजार ७६० रुपैयाँ बराबर रहेको प्रहरीको अनुमान छ ।
बरामद गरिएका सामानहरूका साथै उक्त सवारीसाधनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।














