स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित ऐतिहासिक आँधीखोलाको किनारमा नवौं संस्करणको वालिङ महोत्सव आयोजना हुने भएको छ । ‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नारासहित आगामी माघ १४ देखि २५ गतेसम्म महोत्सव वालिङ खेलमैदानमा सञ्चालन हुने भएको हो ।
महोत्सव प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक एवं औद्योगिक व्यापार मेलाको रूपमा प्रस्तुत गरिने आयोजक वालिङ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको वालिङ महोत्सव यसपटक पनि समृद्ध वालिङको लक्ष्यसहित आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यमा केन्द्रित छ ।
महोत्सवले कृषि, हस्तकला, सेवा, उद्योग र व्यापारसँगै शिक्षा, सूचना प्रविधि र पर्यटनलाई एउटै थलोमा जोड्ने प्रयास गरिएको महोत्सवका निर्देशक एवं संघका निवर्तमान अध्यक्ष शोभाकान्त पौडेलको भनाइ छ । नेपाल सरकारले अघि सारेको वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्यमा महोत्सवले थप ऊर्जा दिने अपेक्षा समेत गरिएको छ ।
यो महोत्सव व्यापार मात्रै होइन, संस्कृति र सम्भावनाको उत्सव रहेको बताउँदै संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले महोत्सवमार्फत वालिङ र स्याङ्जाको दीर्घकालीन विकासका लागि साझा प्लेटफर्म बनाउने लक्ष्य रहेको बताए ।
महोत्सवमा कृषि तथा स्थानीय हस्तकलाका स्टल, सेवा तथा औद्योगिक गरी करिब ३५० व्यापारिक स्टल सहभागी हुनेछन् । महोत्सवमा विभिन्न जातजातिको भेषभूषा, कला तथा संस्कृति, पशुपंक्षी प्रदर्शनी, सुन्तला, ताजा तरकारी, कफी, अदुवा तथा जडिबुटी प्रदर्शनी विशेष आकर्षण रहनेछन् । शैक्षिक प्रदर्शनीअन्तर्गत विद्यार्थीका नवीन आविष्कार, पुस्तक प्रदर्शनी र शैक्षिक सामग्रीसमेत प्रस्तुत गरिनेछ ।
महोत्सवको तयारी तीव्र गतिमा अघि बढेको बताउँदै संघका महासचिव तथा महोत्सव सचिवालय व्यवस्थापन उपसमितिका संयोजक रमेश अर्यालले सबै संघसंस्था, सरकारी निकाय र समुदायको सहकार्यमा व्यवस्थित र अनुशासित महोत्सव प्रस्तुत गर्ने बताए ।
यसैगरी, महोत्सवमा मनोरञ्जनतर्फ स्याङ्जा डान्स आइडल सिजन–४, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स, टिकटक, भजन, रत्यौली र लोक-दोहोरीगीत प्रतियोगितासहित स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । पर्यटन प्रवर्द्धनका लागि जिल्लाका पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनी र होमस्टे आवास व्यवस्थासमेत मिलाइनेछ । महोत्सव अवधिभर निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
महोत्सवले वालिङको पहिचानलाई अझ मजबुत बनाउने साथै कृषि र स्थानीय उत्पादनलाई बजारसँग जोड्दै बाह्य लगानी भित्र्याउने प्राथमिकता रहेको संघका सचिव तथा महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक पिताम्बर खनालको भनाइ छ ।
बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ भने राति १० बजेसम्म हुने कन्सर्टका दिनका लागि भने अपराह्न ५ बजेपछि प्रवेश शुल्क २५० रुपैयाँ तोकिएको छ । यस्तै, महोत्सव अवधिभरका लागि स्थायी पास ५०० रुपैयाँमा उपलब्ध हुने आयोजकले जनाएको छ ।
करिब तीन लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने र महोत्सव अवधिभर १० करोडभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट एक करोड ६८ लाख आम्दानी र एक करोड १४ लाख ५१ हजार खर्चपछि ५३ लाख ४९ हजार अर्थात् झण्डै ५४ लाख रुपैयाँ बचत गर्ने लक्ष्य आयोजक संघले राखेको छ ।
महोत्सवबाट आम्दानी र खर्च कटाएर बाँकी रहने रकमको १५ प्रतिशत व्यवसायिक हितकोषमा राखिने र बचत रकममध्ये ५० प्रतिशत खेलमैदानका लागि जग्गा खरिदमा खर्च गर्ने योजना बनाइएको छ । यस्तै, ३५ प्रतिशत रकम संघका चालू दायित्वहरू चुक्ता गर्दै संस्थागत र व्यवसायिक हितका काममा उपयोग गरिने संघले जनाएको छ ।














