स्याङ्जाको वालिङ नगरपालिकाले “हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन वृद्धि—हाम्रो चाहना” भन्ने नारासहित पहिलो वालिङ सडक खाना महोत्सव–२०८२ भव्य रूपमा गर्ने तयारी पूरा गरेको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
महोत्सवले स्थानीय स्वाद, संस्कृति र पर्यटनलाई नयाँ उचाइमा पुर्याउन टेवा मिल्नुका साथै वालिङको स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्ने जनाइएको छ ।
१६ जातजातिका परिकार एकै ठाउँमा
महोत्सवको सबैभन्दा ठूलो आकर्षण वालिङमा बसोबास गर्ने १६ जातजातिका मौलिक परिकार रहेका छन् ।
गुरुङ, मगर, थकाली, नेवार, राई, लिम्बू, तामाङ, कुमालसहित स्थानीय जनजातिका परम्परागत खानाका स्वाद, विधि र सांस्कृतिक अर्थ प्रस्तुत गरिने नगरपालिकाले जनाएको छ । यसअघि विखण्डित रूपमा रहेका यी परिकारलाई समग्र रूपमा देखाउन मिल्ने भएकाले सांस्कृतिक पहिचान मजबुत हुने अपेक्षा समेत गरिएको छ ।
कला–संस्कृति र भेषभूषाको सामूहिक प्रस्तुति
परिकारसँगै १६ समुदायका नृत्य, भेषभूषा र परम्परागत रीतिरिवाज तथा जीवनशैली प्रस्तुत गरिनेछ ।
आँधीखोला सभ्यताको ऐतिहासिक पक्ष, स्थानीय संस्कृतिको विविधता र समग्र नगरको पहिचानलाई समेटेर तयार गरिएका प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुनेछन् ।
स्थानीय खानाको संरक्षण र प्रवर्द्धनमा जोड
स्थानीय चुलो–चौकाको स्वाद, पुरानो परिकार ढिंडो-गुन्द्रुकदेखि आधुनिक परिकारसम्मका खाना समेटेर महोत्सवले संरक्षण, पुनर्जीवन र बजार विस्तारमा जोड दिनेछ ।
नगरपालिकाले “मौलिक खानालाई आधुनिक बजारसम्म” पुर्याउने अभियानलाई यस महोत्सवबाट थप गति दिने योजना रहेको जनाएको छ ।
किसानका उत्पादन पनि प्रदर्शनीमा
स्थानीय किसानका फलफूल, तरकारी, मौसमी बाली, बीउ–बिजन तथा नवीन कृषि प्रविधिको प्रदर्शन गरिनेछ ।
उत्पादनमा आत्मनिर्भरता र स्थानीय बजार सक्रिय बनाउन यसले सहयोग पुर्याउने विश्वास नगरपालिकाले लिएको छ ।
सांगीतिक तथा मनोरञ्जन कार्यक्रम पनि आकर्षण
राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, युवामुखी कार्यक्रम, परिवारमै रमाउन मिल्ने सकिने स्टल र कार्यक्रम महोत्सवभर सञ्चालन हुनेछन् ।
आँधीखोला किनारमा तीन दिनसम्म महोत्सव
मंसिर १७ देखि १९ गतेसम्म महोत्सव पतञ्जलि योगपीठदेखि सुर्कौदी पुलसम्म फैलिने आँधीखोला करिडोर क्षेत्रमा सञ्चालन हुनेछ ।
आँधीखोलाको तटीय क्षेत्रलाई सांस्कृतिक र पर्यटन पूर्वाधारको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य पनि नगरले अघि सारेको छ ।
बजेट र स्टल व्यवस्थापन
महोत्सवका लागि नगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ । महोत्सवमा २५ स्टल रहनेछन् । कृषि स्टल निःशुल्क हुनेछन् भने अन्य स्टलले प्रतिदिन एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
स्थानीय खानाको संरक्षण, सांस्कृतिक विविधताको प्रवर्द्धन र नगर ब्रान्डिङका लागि पहिलो पटक आयोजना हुन लागेको वालिङ सडक खाना महोत्सवले व्यापक रुचि पाउने अपेक्षा गरिएको छ ।














