प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जिल्लामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि सञ्चालन भएको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ८ हजार २२५ नयाँ मतदाता थपिएका छन् ।
गत असोज ९ देखि मङ्सिर ५ गतेसम्म नाम दर्ता खुला गरिएकोमा कार्यालयमा पुगेर तथा राष्ट्रिय परिचयपत्रमार्फत दुवै माध्यमबाट मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
उनका अनुसार कार्यालयमै पुगेर एक हजार ८४१ जनाले नाम दर्ता गराएका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत छ हजार ३८४ जनाले दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनबाटै नाम दर्ता गर्न सकिने भएकाले धेरै मतदाता परिचयपत्रमार्फतै नाम दर्ता भएको निर्वाचन अधिकारी थापाको भनाइ छ ।
राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था कार्यान्वयन भएपछि असोज २८ गतेदेखि मङ्सिर ५ गतेसम्म एक हप्तामै स्याङ्जामा परिचयपत्रमार्फत मात्र ६ हजार ३८४ जनाले नाम दर्ता गरेका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रको प्रयोगसँगै विदेशमा रहेका र रोजगारका कारण बाहिर बस्नेहरु विशेष लाभान्वित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले बताए । उनका अनुसार मङ्सिर २० गते प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिने छ । त्यसपछिको अद्यावधिक प्रक्रिया पूरा भएपछि नाम दोहोरो परेका, नागरिकता त्याग र रद्द गरेका, कागजात अपुग भएका तथा मृत्यु भएका नागरिकको विवरण छुट्याइनेछ ।
प्रमुख थापाका अनुसार पुस १५ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नामावली अद्यावधिकको काम पूरा भएपछि मात्र स्याङ्जाको पूर्ण मतदाता विवरण तयार हुने उनले जानकारी दिए ।
२०७९ साल मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा दुई लाख ४४ हजार ०८९ मतदाता रहेका थिए । तर निर्वाचन आयोगले पछिल्लो पटक कार्तिक १६ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार स्याङ्जामा मतदाता संख्या दुई लाख ४१ हजार ६९९ जना मात्र कायम भएको छ ।














