स्याङ्जामा फरार कसुरदारहरु पक्राउ अभियान तीव्र हुँदै गएको छ । विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहरिइ फरार रहेका पाँच जना व्यक्तिलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्जा जिल्ला अदालतले २०५२ चैत ८ गतेको कुटपिटसम्बन्धी मुद्दामा दुई वर्ष कैद र दस हजार रुपैयाँ जरिवाना सजाय सुनाएपछि फरार रहेका साविक ओरष्टे गाविस -१ हाल बिरुवा गाउँपालिका -४ घर भई पश्चिम नवलपरासी बर्दघाट नगरपालिका -५ का ७४ वर्षीय थम प्रसाद पोख्रेललाई तीस वर्षपछि पक्राउ गरिएको हो ।
उक्त मुद्दामा अदालतको २०५४ वैशाख १० गतेको फैसलापछि पोख्रेल फरार रहेको र परिवारसँगै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी तथा प्रवक्ता प्रसन्न राज चौधरीले बताए ।
यस्तै, नकबजनी चोरी मुद्दामा एक हजार दुई सय रुपैयाँ जरिवाना सजाय सुनाएपछि फरार रहेका साबिक राङ्वाङ गाविस –४ हाल भीरकोट नगरपालिका -२ का इउब बहादुर रानालाई पक्राउ गरिएको छ ।
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जन्मकैद सजाय सुनाइएका साविक खिलुङ देउराली गाविस -६ हाल भीरकोट नगरपालिका -७ का दलबहादुर गोदार, साविक रत्नपुर -८ र हाल चापाकोट नगरपालिका -८ घर भई पूर्व नवलपरासी मध्यविन्दु नगरपालिका -११ का गणेशबहादुर कुमाल र डाँकासम्बन्धी मुद्दामा छ वर्ष कैद र २५ हजार पाँच सय ७५ रुपैयाँ जरिवाना तोकिएका साविक सिर्सिकोट गाविस -६ हाल वालिङ् नगरपालिका -१२ का डिलबहादुर भन्ने हरिबहादुर गुरुङको लगत कट्टा गरिएको डिएसपी चौधरीले जानकारी दिए ।
पक्राउ परेका फरार कसुरदारहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।














