अदालतले गरेको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेका ६ जना दोषीलाई पक्राउ गरेको छ ।
सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा, प्रहरी चौकी दहथुम, फेदीखोला र अस्थायी प्रहरी चौकी पौवेगौंडेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा उपस्थित गराएको स्याङ्जा प्रहरीका सूचना अधिकारी डिएसपी प्रसन्न राज चौधरीले जानकारी दिए ।
डिएसपी चौधरीका अनुसार पक्राउ परेकामध्ये डाँका, चोरी, बैकिङ्ग कसूर तथा पशुपंक्षी सम्बन्धी मुद्दामा सजाय पाएका व्यक्तिहरू छन् । अदालतले तोकेको कैद भुक्तान तथा जरिवाना तिर्न बाँकी रहेका उनीहरू फरार रहेका थिए ।
पक्राउ परेकाहरूमध्ये डाँका मुद्दामा साविक सिर्दिकोट गाविस -६ छापा हाल वालिङ नगरपालिका –१२ का डिलबहादुर गुरुङलाई ६ वर्ष कैदका साथै २५ हजार पाँच सय ७५ रुपैयाँ जरिवाना र साविक आरुखर्क गाविस -८ हाल फेदीखोला गाउँपालिका –४ का हर्क बहादुर गुरुङलाई १ महिना कैद र १० हजार तीन सय १० रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, चोरी मुद्दामा साविक नुवाकोट -४ हाल पुतलीबजार नगरपालिका -५ का जित बहादुर कार्की र सेती क्षेत्रीनीलाई जनही एक हजार छ सय पाँच रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, स्याङ्जा गल्याङ नगरपालिका -५ घर भई हाल कास्की पोखरा महानगरपालिका -१३ मियापाटन बस्ने शान्ति गुरुङलाई बैंकिङ कसूरमा ३ दिन कैदका साथै पाँच लाख रुपैयाँ जरिवाना र पशुपंक्षी सम्बन्धी कसूरमा पुतलीबजार नगरपालिका –१२ का टेक भन्ने डम्बर बहादुर गुरुङलाई ११ महिना ५ दिन कैद तोकिएको फरार रहेका थिए ।
अदालतका फैसला कार्यान्वयनमा निरन्तरता रहने र फरार रहेका अन्य व्यक्तिहरूलाई पनि पक्राउ अभियान जारी रहने प्रहरीले जनाएको छ ।














