स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अध्यावधिकको काम तीव्र रुपमा चलिरहेको छ । यस क्रममा दुई हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार सरकारद्वारा अध्यादेश ल्याइएपछि दैनिक ४० देखि ५० जनासम्म नाम दर्ता तथा फोटो खिचाउन कार्यालयमा आउने गरेका छन् । उनले कात्तिक मसान्तसम्म यो काम निरन्तर चल्ने जानकारी दिए ।
तर, अघिल्लो प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपालि स्याङ्जामा मतदाता संख्या घटेको छ । अहिले जिल्लाभर २ लाख ४१ हजार ६९९ जना मतदाता रहेका छन् भने २०७९ सालको निर्वाचनमा २ लाख ४४ हजार ८९ जना थिए ।
निर्वाचन कार्यालयका अनुसार चार हजार ४७ जनालाई नामावलीबाट हटाइएको छ । तीमध्ये मृत्यु भएकाहरू ३ हजार ४४६ जना, दोहोरो नामावली भएका ५९० जना र नागरिकता त्याग गरेका ११ जना रहेका छन् । प्रमुख थापाका अनुसार यस पटक कुल मतदाता संख्या अघिल्लो भन्दा २ हजार ३९० ले घटेको छ ।
यसैबीच, फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सिफारिस समितिको बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले तोकिएको समयमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न सबै निकायले सहकार्य गर्नुपर्ने बताए । “वर्तमान परिस्थितिमा चुनावले मात्रै निकास दिन सक्छ, त्यसैले सबैले आफ्नो जिम्मेवारी निर्वाह गरौं,” उनले भने ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता नामावलीका लागि फोटो खिच्न आफ्नो जिल्ला कार्यालयमै पुग्नुपर्ने व्यवस्था छ । तर, आवश्यक परे अन्य जिल्ला निर्वाचन कार्यालयबाट पनि सो सेवा लिन सकिने छ ।
मतदाता दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विवाह भएको भए विवाह दर्ता प्रमाणपत्र, र अन्य आवश्यक कागजात अनिवार्य हुने कार्यालयले जनाएको छ ।














