स्याङ्जाको पुतलीबजार नगरपालिका –३ बाढखोलामा देउसी भैलो खेल्ने विषयलाई लिएर प्रहरीसँग विवाद उत्पन्न भएपछि दुई जना युवा पक्राउ परेका छन् ।
कार्तिक ७ गते राति देउसी भैलो कार्यक्रम चलिरहेका बेला सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरूसँग केही व्यक्तिहरूबीच वादविवाद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार सम्झाइबुझाइका क्रममा समेत उनीहरूले संयमित नभई महिला प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए ।
अभद्र व्यवहार गरेको आरोपमा पुतलीबजार –३ बाढखोला बस्ने ३० वर्षीय सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
उनीहरू विरुद्ध अभद्र व्यवहार कसूरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको निरीक्षक तिवारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














