तिहार नजिकिँदै गर्दा स्याङ्जामा अवैध पटका कारोबार गर्नेहरूको गतिविधि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले विशेष सूचनाको आधारमा सोमबार पुतलीबजारका विभिन्न स्थानमा छापा मार्दै ठूलो परिमाणमा पटका बरामद गरे पनि बजारमा अझै लुकेर बिक्री भइरहेको स्थानीयले बताएका छन् ।
पुतलीबजार नगरपालिका –१ नारायणस्थानकी ४२ वर्षीया अरूणा गुरुङ र २९ वर्षीया सविना खातुनको घर तथा पसलमा गरिएको छापामारीमा प्रहरीले टर्की नामक सामान्य विष्फोटक पदार्थ (पटका) का १५ प्याकेट फेला पारेको हो ।
त्यसैगरी, प्रगतिनगरस्थित ६० वर्षीय जीवन थापाले सञ्चालन गरेको गिफ्ट पसलमा विभिन्न ब्रान्डका पटका बिक्रीका लागि राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको पसलबाट कार्थिस २१ प्याकेट, म्याजिक पेपर सट १३ प्याकेट, हाइड्रो ग्रीन ३ र ग्राउन्ड चक्कर २० प्याकेट बरामद गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उनका अनुसार बरामद भएका सामग्रीहरू तत्कालै नष्ट गरिएको हो ।
तर, प्रहरी कारबाहीकै बीच पनि बजारमा बालबालिका र किशोरहरू पटका किनमेल गरिरहेको देखिएको स्थानीयको गुनासो छ । “बरामद त गरियो, तर गल्लीगल्लीमा अझै स-साना पसलहरूबाट पटका खुलेआम बिक्री भइरहेका छन्,” पुतलीबजारका एक अभिभावकले नाम नखुलाउने सर्तमा बताए ।
प्रहरीले भने तिहारको मुखमा यस्ता विष्फोटक पदार्थले दुर्घटनाको जोखिम बढाउने भएकाले बजारमा अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ । सूचना अधिकारी चौधरीका अनुसार, “अवैध पटका आयात, बिक्री र प्रयोग कानुन विपरीतको काम हो । जो कोही संलग्न पाइए तुरुन्तै कारबाही हुन्छ ।”
तिहार नजिकिँदै गर्दा बालबालिकाको आकर्षण र अभिभावकको उदासीनतामाझ बजारमा फेरि पटकाको धुँवो देखिन थालेको छ । प्रहरीको कारबाही त देखियो, तर जोखिम अझै मेटिएको छैन ।
स्थानीयबासीले भने यस्ता अवैध पटका पसलहरू नियमित अनुगमन गर्न प्रहरीले अझ सशक्त कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।