स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले पुनः ठूलो मात्रामा अवैध पटका बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले सोमबार बिहान करिब ८:४५ बजे सवारी साधन चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ३३६ नम्बरको ट्रकबाट ९३१ प्याकेट सामान्य विस्फोटक पदार्थ फेला पारेको हो ।
प्रहरीले ट्रकभित्र लुकाएर ल्याइएका टर्की इलेक्ट्रीक क्र्याकर्स ९०५ प्याकेट, लुम्बा बुलेट २० प्याकेट र ग्राउन्ड चक्कर ६ प्याकेट गरी ९३१ प्याकेट पटका बरामद गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीहरूको रोहबरमा ती सबै पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार तिहार नजिकिँदै गर्दा अवैध पटका कारोवार बढ्ने सम्भावना रहेकाले निगरानी कडा पारिएको छ ।