स्याङ्जाको फेदीखोला गाउँपालिका –५, बाँगेमा भएको सुन चोरीको घटनामा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज १८ गते साँझ करिब ६ बजे उषा शर्माको घरबाट ३.५ तोलाको लकेटसहितको सुनको सिक्री र २ तोलाको बेरुवा औँठी चोरी भएको थियो ।
घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तत्काल अनुसन्धान टोली खटाएको थियो । अनुसन्धानका क्रममा असोज २१ गते स्याङ्जा पुतलीबजार नगरपालिका –१, सहिदचोकस्थित क्षेत्रबाट एक महिलालाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चोधरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकी महिला फेदीखोला गाउँपालिका –३ की २८ वर्षीया प्रतिमा सुवेदी हुन्, उनी हाल कास्कीको पोखरा महानगरपालिका –१७, विरौटामा बसोबास गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार प्रतिमा सुवेदीले चोरी गरिएका गरगहना पोखरामा लुकाइछिपाइ राखेकी थिइन् । प्रहरीले ती गरगहना सोही स्थानबाट फेला पारेर बरामद गरेको हो । बरामद सामग्रीमा ३.५ तोलाको सुनको सिक्री र २ तोलाको बेरुवा औँठी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी प्रतिमाविरुद्ध चोरी सम्बन्धी कसूरमा असोज २२ गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको छ स्याङ्जा प्रहरीले जनाएको छ ।














