सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीसँगै सामान्य सेवाग्राहीको अत्याधिक चापका कारण जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बिहानैदेखि सुरु गर्दै आएको राष्ट्रिय परिचयपत्र सेवा अब रोकिएको छ ।
गत साउन २८ गतेदेखि बिहान ८ बजेबाट सेवाग्राहीलाई सहज बनाउन प्रयोगमा ल्याइएको व्यवस्था असोज ७ गतेदेखि स्थगित गरिएको हो । अबदेखि सेवाग्राहीहरूले नियमित कार्यालय समयमै सेवा लिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
उनका अनुसार हाल जनशक्ति व्यवस्थापनसँगै सेवाग्राहीको चाप घट्दै गएको हुँदा बिहान ८ बजे नै सेवा सुरु गर्ने आवश्यक छैन । सोही कारण बिहानको सेवा रोक्दै, नियमित समयमा मात्र सेवा दिने निर्णय गरिएको हो ।
यससँगै सबै स्थानीय तहलाई पनि आम जनतालाई यथार्थ जानकारी गराउन र समन्वय गर्न अनुरोध गरिएको छ ।
सम्बन्धित समाचार: स्याङ्जामा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, चाप थेग्न सेवा समय विस्तार