देशभर चलेको जेन-जेड आन्दोलनका कारण रोकिएको जिल्ला अदालत स्याङ्जाको कामकाज सोमबारदेखि पुनः सुरु हुने भएको छ ।
आन्दोलनका क्रममा सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीसहित सर्भरमा क्षति पुगेपछि इन्ट्रानेट प्रणाली ठप्प भएको थियो । सार्वजनिक यातायातसमेत अवरुद्ध भएकाले स्याङ्जा अदालतले भदौ २६ गतेबाट पक्राउ पुर्जी जारी, आवश्यक म्याद थप, बन्दी प्रत्यक्षीकरणजस्ता अति आवश्यक कार्य बाहेक अन्य सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय गरेको थियो ।
हाल यातायात सञ्चालनसहित परिस्थिति सामान्य बन्दै गएपछि स्याङ्जा अदालतले भोलि सोमबारदेखि सबै कामकाज पूर्ववत् रुपमा पूर्ण रुपले सञ्चालन गर्ने जनाएको छ ।
अदालतले मुद्दा दर्तादेखि प्रतिउत्तरपत्र बुझाउने प्रक्रिया, नियमित सुनुवाइ र अन्य प्रशासनिक सेवा सबै पुनः सुचारु हुने भएकाले सरोकारवालाहरूलाई जानकारी गराएको छ ।