देशभर भदौ २३ र २४ गते जेन-जेड आन्दोलनका क्रममा भएको ठूलो संख्यामा हताहतीको घटनाले स्याङ्जाका स्थानीय तहहरूलाई समेत मर्माहत बनाएको छ । यही कारण स्याङ्जाका छ पालिकाले बुधबारदेखि अनिश्चितकालीन बिदा दिएका छन् ।
बिदाको घोषणा गर्नेमा गल्याङ, भीरकोट र वालिङ नगरपालिका साथै हरिनास, बिरुवा र कालीगण्डकी गाउँपालिका रहेका छन् । पालिकाहरूले विज्ञप्ति जारी गर्दै वडा कार्यालयदेखि शैक्षिक संस्था र सम्पूर्ण संघ–संस्था अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएका छन् ।
विज्ञप्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान विषम परिस्थितिलाई शान्तिपूर्ण र संयमतापूर्वक समाधान गर्न सबैलाई अपिल गरिएको छ ।
यसैबीच, जेन-जेडले स्याङ्जामा प्रदर्शन गरे पनि ठूलो अप्रिय घटना भने नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मंगलबार सदरमुकाम स्याङ्जा बजारमा भएको प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, पुतलीबजार नगरपालिकाको कार्यालयको साथै नेकपा एमाले र नेपाली काँग्रेसको जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयका सिसा फुटाइएका थिए भने ट्राफिक चोकमा रहेको बि.पि. कोइरालाको शालिकसमेत तोडफोड गरी क्षति पुर्याएको थियो । सामान्य क्षति भए पनि आन्दोलन तुलनात्मक रूपमा शान्तिपूर्ण रहेको उनको भनाइ छ ।
देशभर आन्दोलनमा ठूलो क्षति पुगे पनि स्याङ्जामा भने जेन-जेडहरूले अपेक्षाकृत संयमता अपनाएको देखिएको छ ।