स्याङ्जाको पुतलीबजार नगरपालिका –२ चिरुवामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भदौ ८ गते आइतबार राति करिब ८ बजे स्वास्थ्य केन्द्रको झ्याल, ढोका लगायतका सामग्री तोडफोड भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा सो घटनामा संलग्न रहेको आरोपमा पुतलीबजार –२ बस्ने २२ वर्षीय राम किसन गुरुङलाई भदौ ९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार गुरुङलाई आपराधिक उपद्रव गरेको कसूरमा पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रहरीले स्वास्थ्य संस्था लक्षित तोडफोडलाई गम्भीर अपराधका रूपमा लिएको बताएको छ ।