संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आ.व. २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिसा)को नतिजामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिका सूचीमा परेको छ ।
गाउँपालिकाको संस्थागत क्षमता, योजना कार्यान्वयन, पारदर्शिता, सुशासन र सेवा वितरणलाई आधार मान्दै गरिएको मूल्याङ्कनमा अर्जुनचौपारीले ८८.७५ अंक प्राप्त गर्दै गाउँपालिकामध्ये राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गरेको हो ।
गाउँपालिकामध्ये बाग्मती प्रदेशको धादिङस्थित बेनीघाट रोराङ गाउँपालिका ९१.७५ अंकका साथ पहिलो र लुम्बिनी प्रदेशको गुल्मीस्थित रूरूक्षेत्र गाउँपालिका ९० अंकसहित दोस्रो स्थानमा परेका छन् ।
यस्तै, अर्जुनचौपारीले राष्ट्रिय स्तरका उत्कृष्ट १० गाउँ/नगरपालिकाको सूचीमा समेत स्थान बनाउन सफल भएको छ । यस श्रेणीमा अर्जुनचौपारी १० औं स्थानमा परेको छ ।
यस उपलब्धिलाई स्थानीयवासीले गौरवको विषयका रूपमा लिएका छन् । गाउँपालिकाले विगत केही वर्षयता शिक्षा, स्वास्थ्य, सामाजिक उत्तरदायित्व र प्रशासनिक पारदर्शितामा दिएको प्राथमिकता नै यस सफलताको मुख्य आधार भएको बताइन्छ ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/८१ का लागि गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको सार्वजनिक नतिजा अनुसार नगरपालिकातर्फ बाग्मती प्रदेशको धादिङस्थित नीलकण्ठ नगरपालिका ९३.५० अंकसहित पहिलो स्थानमा परेको छ । त्यसपछि सोही प्रदेशको चितवनस्थित खैरहनी नगरपालिका ९२.७५ अंकसहित दोस्रो र लुम्बिनी प्रदेशको रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका ९१.२५ अंकसहित तेस्रो स्थानमा परेका छन् ।
यसैगरी, राष्ट्रिय स्तरका उत्कृष्ट १० गाउँपालिका तथा नगरपालिकाको सूचीमा पनि यी स्थानीय तहले स्थान बनाउन सफल भएका छन् । सो सूचिमा नीलकण्ठ, खैरहनी, बेनीघाट रोराङ, तिलोत्तमा, देवदह, सूर्योदय, इलाम, रूरूक्षेत्र, बाणगंगा, रत्ननगर, अर्जुनचौपारी र तानसेन पर्न सफल भएका छन् ।
मन्त्रालयले सभाहलमा उत्कृष्ट पालिकाहरुलाई शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेद्वारा सम्मान गरेको थियो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन हरेक वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ, जसले देशभरका गाउँपालिका र नगरपालिका स्तरमा प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास लिइएको छ ।