महानगर अन्तर्गत होइन, सडक विभागले गरेको होः पोखरा महानगर
पोखरामा यतिबेला महेन्द्रपुलदेखि पृथ्वीचोक सम्मको क्षेत्रमा अमेरिकी प्रविधि अस्फाल्ट विधि अनुसार सडक पिच भइरहेको छ । डेढ किलोमिटर सडक पिच गर्नका लागि पाँच करोडमा ठेक्का सम्झौता भएको छ । ठेकेदार कम्पनी विवेक एण्ड कुवेर निर्माण सेवा हो । जसले १० दिनमा सक्छु भन्दै काम सुरु गरेको हो ।
गत सातादेखि सुरु भएको पिच वर्षाका कारण ३ दिन रोकियो । त्यसपछि पुनः कामले निरन्तरता पाएको छ । तर, शनिबार बेलुकी मुसलधारे वर्षाका बेला पनि सडक पिच भइरह्यो । पोखरा वडा नं. ९ स्थित नयाँबजारमा अस्फाल्ट पिच गरिएको हो । सडकमा खोला बगिरहँदा काम धमाधम भइरहेको दृश्य निकै असहज देखियो ।
पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले उक्त काम सडक विभाग अन्तर्गत भइरहेको बताए । ‘यो सडक क्षेत्र सडक विभाग अन्तर्गतको हो । तर, महानगरकै क्षेत्र भएकाले हाम्रो चासो स्वभाविक हुनुपर्छ । वडा अध्यक्ष पनि विदेश जानुभएकाले मैले नै यो बारे थाहा भएपछि सडक विभागसँग कुरा गरेँ । काम बन्द भैसक्यो भने । पानीमा पिच गर्न मिल्दैन ।’ – तिमिल्सिनाले गण्डकन्यूजसँग भने ।
संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले यो काम अघि बढाएको हो । सडक विभागका उच्च अधिकारीसँग सम्पर्क नभएपनि प्राविधिक सम्पर्कमा आए । उनले नाम नखुलाउने शर्तमा भने – ‘भिडियो पनि देखेँ । गाली खाइरहेका छौँ । प्रवक्ताले नै प्रतिक्रिया दिनुपर्ने हो, मैले होइन । त्यसैले नाम नखुलाउनुहोला । तर, कुरा के हो भने काम हुँदाहुँदै पानी परिहाल्यो । गाडीमा आएका सामान खेर गैहाल्छ । त्यसैले सडकमै छरेर पेलेका हुन् ।’
उनले नयाँबजार क्षेत्रमा नाली नभएको र पानी जति सडकबाटै बग्ने भएकाले पनि खोलै बगेको स्विकारे । ति प्राविधिकले एक गाडी सामान खेर जाँदा डेढलाख देखि २ लाखसम्म नोक्सान हुने बताए । ‘अनि, सामान खेर जान्छ भनेर पानीको खोलो बगेको ठाउँमा रोलरले थिचेर हुन्छ त ?’ भन्ने प्रश्नमा ति ओभरसियरले भने – ‘सानो सानो सिमसिम पानी हुँदा यो पीचलाई फरक पर्थेन । तर, आजको चाहिँ ठूलै हो । काम बिग्रेको भए फेरि उप्काएर पिच गरिहाल्छौँ ।’
मुसलधारे पानी परिरहँदा पनि काम भइरहेको देखेपछि मिडियाकर्मी अर्जुन बास्तोलाले भिडियो खिच्न थाले । एक जना मास्क लगाएको पुरुष आएर नखिच्न भने । मिडियाकै हूँ भनेपछि उनी त्यहाँबाट भागिहाले । तीन-चार जना आएर घेरेको र मिडियाको हूँ भनेपछि काम रोक्न थालेको बास्तोलाले बताए ।
पिचमा गुणस्तर नभएको भन्दै यसअघि नै सामाजिक सञ्जालमार्फत अख्तियार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । दुईतर्फी पिच जोडिएको ठाउँ राम्ररी लेभल नमिलेको भन्दै बिरोध भइरहँदा झनै पानीको खोलो बगेको बेला पिच गर्दा गालीकै वर्षा भइरहेको छ ।
पोखराको २५ किमी बढी क्षेत्रमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे भइसकेको छ । पोखरा महानगरपालिका, प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय र संघ सरकार मातहतको सडक विभाग कार्यालयले आफू अन्तर्गतका सडकहरुमा काम गरेका छन् ।
जिरो किलोमिटरदेखि विन्ध्यवासिनी सम्मको सडक सबैभन्दा पहिले अस्फाल्ट प्रविधिबाट पिच भएको हो । २०७७ असोजबाट पोखराको न्यूरोड क्षेत्रमा अस्फाल्ट प्रविधिबाट पिच गरिएको थियो ।
खानेपानी पाइपका लागि मनलाग्दी खनेर, महानगरले नै बिजुलीको पोल र डिभाइडरका कारण ८–१० वर्ष खप्ने भनेको सडक तहसनहस भइसकेको छ । त्यसअघि ‘सर्फेस ड्रेसिङ’ विधि भन्दै न्यूरोड क्षेत्रमा गिट्टीमात्र छरेपछि पोखरा महानगर काम रोकेर अस्फाल्ट विधिमा पुगेको हो ।
महानगरपालिकाले मुस्ताङ चोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, बुद्धचोक, रानीपौवा, बन क्याम्पस र महेन्द्रगुफासम्मका सडकमा अस्फाल्ट पिच गरिसकेको छ । पर्स्याङ—सिद्धार्थचोक, चिप्लेढुंगा—महेन्द्रपुलसम्म, बगर, दीप, रानीपौवा र अमरसिंह चोकसम्मको सडक पनि महानगर अन्तर्गतकै रहेकाले अस्फाल्ट प्रविधिको हो ।
एलाइट कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएर काम गरेको थियो । खानेपानी आयोजनाका कारण पनि कतिपय ठाउँमा पिच काम नलाग्ने भइसकेको छ।
के हो अस्फाल्ट प्रविधि ?
अस्फाल्ट प्रविधिमा गिटी अलकत्रा पकाउने र बिच्छयाउनेसम्मको काम उच्चप्रविधिबाट हुन्छ । कम्तिमा ४ सेन्टिमिटर मोटाइको कालोपत्रे हुनैपर्छ ।
महंगो प्रविधि भए पनि बढी पानी परिरहने पोखरामा सडक बढी टिकाउ राख्न यो प्रविधि अपनाएको हो । यो अमेरिकी प्रविधि हो । महंगो भएकाले भारतमा पनि बल्ल अहिले बढी अस्फाल्ट सडक बनाउन थालिएको हो । अस्फाल्ट गरिएको सडक बढी टिकाउ मानिन्छ । यो प्रविधिबाट सडक बनाउँदा सतह मिलाउनुपर्छ । अस्फाल्ट प्रविधिबाट बनेको सडक ८ देखि १० वर्षसम्म टिक्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-