Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रातभर निर्घात कुटपिट, सबेर फेवातालमा मृत

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 December 28 मा प्रकाशित
रातभर निर्घात कुटपिट, सबेर फेवातालमा मृत
ShareTweetSend

१८ वर्षीय नुभिव मृत्यु प्रकरणः हत्या आरोपमा घारीपाटन बस्ने ३ युवक पक्राउ

ठ्याक्कै एक महिना अघि ४ वैशाखको सबेरै फेवातालको बाराही मन्दिर नजिकै एक किशोरको शव नेपाल आर्मीको टोलीले भेट्टाए । पानीमा तैरिरहेको अवस्थामा भेटिएको उक्त शव बारा निजगढ स्थायी घर भई ललितपुर खुमलटार बस्ने १८ वर्षीय नुभिव उप्रेतिको थियो ।

त्यो दिन गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट मिडियामा यस्तो सूचना प्रवाह भएको थियो – ‘मिति २०७८।०१।०४ गते, अन्दाजी ०६ः४० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका–६ लेकसाईड स्थित बाराही मन्दिर नजिकै फेवातालको बिचमा जिल्ला बारा निजगढ नगरपालिका–९ बस्ने वर्ष १८ को नोभिब उप्रेती मृत अवस्थामा फेला परेको, घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलि गई शव रेस्क्यू गरी बाहिर निकालिएको, घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको ।’

प्रहरीले नुभिवले आत्महत्या गरेको प्रारम्भिक निष्कर्श निकाल्यो । त्यसपछि, कास्की प्रहरीले नुभिवकी आमा भिमा मैनाली (भगवती कुमारी मैनाली उप्रेति) लाई सम्पर्क गर्‍याे । शव भेटिएकाले तस्वीर पठाई पहिचान गर्न भन्यो । छोरो ठम्याएपछि तत्काल श्रीमान, जेठाजु, साथीसहित भिमा पोखरा आइन् । उनीहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा पुगेर हुलिया जाहेरी दरखास्त लेखी नुभिवको शव सनाखत गरी जिम्मा लिए । शवको प्रकृति हेर्दा आत्महत्या होइन, हत्या भएको ठहर गरे । गुप्ताङ्गबाट रगत बगेको, घाँटीमा दाग, तीघ्रामा रगत, अनुहार र टाउकोमा चोट, कोखामा निलडाम देखेपछि निर्घात कुटपिटबाटै हत्या भएको निश्कर्षमा परिवार पुगे ।

सोहि अनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष अनुरोध गरे । तर, सुरुमा वडा प्रहरी कार्यालय, बैदामले हत्या भएको जाहेरी लिन मानेन । उनीहरु शव लिएर काठमाण्डौ फर्किए । त्यसपछि एक हप्तापछि पुनः पोखरा आएर हत्या नै भएको ठहर्दै जाहेरी दिन खोज्दा पुनः वडा प्रहरी कार्यालय बैदामबाट डिएसपी चिनिमाया तामाङले आत्महत्या गरेको देखिन्छ भन्दै लिन मानिनन् । अघिल्लो पटक डिएसपी तामाङ थिइनन्, इन्स्पेक्टर श्याम थापा रहेको भिमा बताउँछिन् । त्यसपछि भिमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा पुगेर एसपी जीवनकुमार श्रेष्ठसँग भेट गरिन् । एसपीको सहयोग मिल्यो, त्यसपछि जाहेरी दिइन् । प्रहरीले नुभिवबारे अनुसन्धान अघि बढायो र बल्ल शव फेला पर्नु ३ घण्टा अघि लेकसाइडको बीच सडकमै कुटपिट भएको रहस्य खुल्यो । कुटपिटमा संलग्न ३ जनालाई पनि पक्रन सफल भयो । अहिले तीन जना नै हिरासतमा छन् । कारबाही प्रक्रिया प्रहरीले अघि बढाइसकेको छ ।

नुभिवका परिवारको भने मन बुझेको छैन । महिना दिन पुग्दा समेत बलियो प्रमाण जुटाउन प्रहरीले अनुसन्धान नगरेको परिवारको गुनासो छ । ‘आत्महत्या ठहराइएमा अनुसन्धानको दुःख नै हुँदैन भन्ने प्रहरीको सोच हो कि ? घटनामा अरु ठूला मान्छे वा आफन्तहरु मुछिए ? कुटपिट भएको प्रहरीले नै देख्दा समेत किन आत्महत्या भनियो ? मूख्य कुरा नुभिवले प्रयोग गर्ने मोबाइलबाट नुभिवको शव भेटिसकेर पनि साथीलाई फोन गएको छ । खोई मोबाइल ?’ – आमा भिमाको प्रश्न छ ।

प्रहरी भने अनुसन्धानमा कहिँकतै कमजोरी नभएको बताउँछ । प्रहरी अधिकारीहरुको भनाई छ– ‘केहि दिनमै कुटपिटमा संलग्नहरु पक्राउ गरी कानुनानुसार कारबाही प्रक्रिया अघि बढिसकेको छ । कसरी प्रहरीले असहयोग गरेको हुन्छ ?’

प्रहरीका अनुसार मिसिल तयार गरी आइतबार सरकारी वकिलको कार्यालयमा पेश भएको र त्यसपछि अदालती प्रक्रियामा गएको छ । दुई तीन दिनभित्रै बहस सुरु हुने जनाइएको छ । मृतककी आमा भिमा पोखरा आएर वैशाख २४ गते नै तीन जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । र, कानुनानुसार कारबाही प्रक्रिया अघि बढेको छ ।

पोखरा घारीपाटन बस्ने तीन किशोर पक्राउ

नुभिवलाई राति निर्घात कुट्ने तीन किशोरहरु अहिले हिरासतमा छन् । उनीहरु हुन् खोटाङ, ऐंसेलुखर्क गाउँपालिका वडा नं. २ घर भई कास्की पोखरा वडा नं. ७ घारीपाटन बस्ने १८ वर्षीय आशिष राई, स्याङ्जा फेदीखोला २ घर भई घारीपाटन नै बस्ने १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी ६ घर भई घारीपाटन बस्ने १९ वर्षका बासुदेव गुरुङ । लेकसाइडको स्ट्रीट नं. १३ चोकमा यी ३ जना मिलेर नुभिवलाई मरणासन्न हुने गरी कुटपिट गरिएको सिसिटिभी फुटेजमा देखिएको छ ।

कुटपिटको कारण प्रहरीले खुलाएको छैन । प्रहरीले यतिमात्र भनेको छ – ‘३ जना र मृतकबीच बारमा झगडा भएको खुलेको छ । त्यसपछि कुटपिट गरिएको छ ।’ नुभिवकी आमा भिमाले यी ३ जनासँग नुभिवको चिनजान नभएको बताएकी छन् । उनले ३ घण्टासम्म पटक पटक कुटेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै बताएकी छन् ।  पोखरा नै नचिनेको मान्छे पोखरा किन गयो ? भन्ने तर्फ अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ ।

मृतक लागु पद्धार्थ दुव्र्यसनी भन्ने कुरा आएपछि यो बारेमा सोध्दा नुप्रिभकी आमाले ठाडै इन्कार गरिन् । भिमाले आफूलाई कहिल्यै थाहा नभएको बताइन् र छोरोले गीत गाएको, घरमा किचनमा हेल्प गरेको लगायतको भिडियो पठाइन् । उनले भनिन् – ‘नहुने कुरा कसले गरेको ? पोखरा किन गयो होला कलेज गएको बाबु ? भन्ने मात्रै हो,  उसको नराम्रो कुरा केही छैन । पोखरा गएको बारेमा अनुसन्धान हुनुपर्यो नि ! कसैले बोलाएर गयो कि ? कोहिसँग गयो कि ? त्यही भएर त सिसिटिभी फुटेज मागेको मैले । ‘

@3:23 AM, April 17, 2021, Lakeside, Street No. 13:

हामीलाई प्राप्त सिसिटिभी फुटेजको दृश्यः

यहाँ क्लिक गर्नुहोस्

वैशाख ४ गते बिहान ३ः२३ बजे पोखरा ६ लेकसाइडको स्ट्रीट नं. १३ मा केही मोटरसाइकल र निजी सवारी चलिरहेका छन् । नेपाल प्रहरीको गाडी पास भएको देखिन्छ । गाडी जाने बित्तिकै चेक सर्ट लगाएका, कपाल पालेका एक जना युवकलाई हेल्मेट लगाएका र सेतो सर्ट लगाएका दुई जना युवकले लछार्दै, पिट्दै लात्तिले हान्दै रोड क्रस गराइरहेका बेला अर्को रातो हुड लगाएका युवक पनि मिसिन्छन् र सडकपेटीमा लडाएर निर्घात कुट्छन् । लगत्तै ३ जना प्रत्यक्षदर्शी गएर रोक्छन् । हेलमेट लगाउने युवक स्कुटर ल्याएपछि समेत फर्की फर्की गएर लात्तीले भकुर्छन् । ३ मिनेटसम्म प्रहरी घटनास्थलसम्म पुगेको देखिन्न । कुट्ने तीन जना माथि उल्लेखित आशिष राई, बिगेन गुरुङ र बासुदेव गुरुङ हुन् । कुटाई खाने नुभिव उप्रेति हुन् ।

घटना विवरण मृतककी आमा भिमा मैनालीकै शब्दमाः

भर्खर १८ वर्षको भएपनि मेरो छोरो नुभिव अरुको दुःख देख्न नसक्ने दयालु स्वभावको थियो । सबैसँग राम्रो व्यवहार गर्थ्यो । भेजेटेरियन हो । मलाई भान्साको कामसम्म सघाउने गर्थ्यो । संगीत र आईटीमा रुची थियो । गितार बजाउने, गीत गाउने उसको शोख हो । प्लस टु पछि आइटी नै पढ्न सुरु गरेको थियो । वैशाख ३ गते बिहानै मलाई तातो पानी बनाएर दियो । उसले नै मेरो स्कुटर निकालिदिएपछि म पौने नौ बजेतिर कलेज पढाउन निस्किएँ । उसले आफै पस्केर खाना खाँदै थियो । जानेबेला किताब किन्नुपर्छ भनेर सोधेको थिएँ । म कलेजमै लाइब्रेरीमा पढ्छु भनेर जवाफ फर्कायो । सवा १० बजेतिर बुबासँग सिटिजन कलेज गयो । छोरोलाई छोडेर उहाँ (रत्नप्रसाद उप्रेति) फर्कनुभयो ।

कलेज छुट्टी भएपछि उहाँ छोरो लिन जाँदा छोरो भेटिएन । मोबाइल पनि अफ छ भनेर उहाँले मलाई फोन गर्नुभयो । मैले कलेजमा राजकुमार प्याकुरेल सरलाई फोन गरेँ । उहाँले नुभिव कलेज आज आएको छैन भन्नुभयो । त्यसपछि उसको नजिकको साथी विप्लवलाई कल गरेँ । विप्लवकै सहयोगमा उसका अरु साथीहरुलाई पनि फोन गरे । यसबीचमा नुभिवलाई पनि पटक पटक गरेँ । उसको फोन अफ नै थियो । छोराकै साथीहरुको भनाई अनुसार खाजा खान जाने ठाउँ पाटन दरबार स्क्वायरदेखि विभिन्न ठाउँमा राति ११ बजेसम्मै खोजतलास गरियो । तर भेटिएन, कसैले नदेखेको जानकारी दिए । त्यसपछि, जावलाखेल प्रहरीलाई रिपोर्ट गरी हुलिया टिपाएँ । उसका साथीहरुलाई नुभिवबारे केही जानकारी आएमा मलाई खबर गर्नु भनेर म घर फर्किएँ ।

राति साढे १२ बजे उसको वाट्सएपमा बाबु कहाँ छौ ? मलाई म्यासेज गर भनेर सुतेँ । छोरोले राति मेरो म्यासेजको रिप्लाईमा आफ्नो फोनको पासवर्ड, आएमई पे र मोबाइल बैंकिङ पासवर्डहरु सबै डिटेल पठायो । म बोल्न सक्दिनँ मामु, म पोखरा छु । भनेर म्यासेज आयो । म हराएँ । मैले आफू बसेको होटल देखिनँ, मलाई पिट्यो भनी पुलिसलाई भन्दा वास्ता गरेन भनेपछि छोरालाई पक्कै निकै अफ्ठेरो महसुस गरेँ ।

जेठाजुले ‘पोखरामा फेवातालमा शव भेटिएको भन्ने निजगढमा हल्ला छ रे’ भन्नुभएपछि मनमा चिसो पस्यो । बिहान ८ बजेतिर बुद्धिसागर पुरी, प्रहरी इन्स्पेक्टर पोखराबाट भनेर भाइबरमा छोराको फोटो पठाउनुभयो ।छोरोको हालत थाहा भएपछि तत्काल पोखरा आयौं ।  पोखरा आई बैदाम प्रहरीसँग सम्पर्क गर्दा तालमा डुबेको अवस्थामा मृत व्यक्ति फेला परेको जानकारी पाएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह पुगेँ । छोराको सनाखत गरेँ । सुरुमै हुलिया जाहेरी दिन लगाए । मैले शव पुरै हेरेकै थिइनँ ।

पछि छोरोको शरीर हेर्दा गुप्ताङ्गबाट रगत बगेको, घाँटीमा रातो दाग देखिएको, टाउको पछाडि टुटुल्को उठेको, उसको दाहिने खुट्टाको पैताला निकै फुलेको र तिघ्रामा समेत रगत लतपतिएको, पेट थिचि हेर्दा पानी नभएको बरु पेटमा माटो देखिएको, कोखा छेउमा निलडाम देखएिको, निधारको बायाँ पट्टी पनि चोट र निलडाम देखिएको कारणले छोरोको हत्याकै नै भएको निश्कर्षमा म पुगे । त्यसपछि मैले आत्महत्या होइन, कर्तव्य ज्यान नै हो भनेर अनुसन्धानका लागि जाहेरी दिन खोज्दा लिएनन् ।

म त्यसपछि काठमाण्डौ फर्केर वैशाख ३ गते के के भयो भनेर सबै बुझ्न थालेँ । उसको इमेलबाट गुगल म्यापमा हेर्दा दिउँसो पौने २ बजे काठमाण्डौको बाबा पेट्रोल पम्प नजिक लोकेशन ट्रेस भएको छ । म्याप अनुसार त्यसपछि एकैचोटी राति १२ बजेर ३२ मिनेटमा पोखराको लोकेशन देखिएको छ । राति २ बजेर ४९ मिनेटसम्म लेकसाइड नै देखिन्छ । छोराले बुक गरेको होटल वेलकम ईनमा राति ९ बजे पुगेको होटल धनीले बताएकाले कति बजे पोखरा आएको चाहिँ खुल्न सकेन । यी सबै काम प्रहरीको हुनुपर्ने थियो । तर अनुसन्धान नै हामीले गर्नुपरेको छ । प्रहरीबाट केही चित्तबुझ्दो अनुसन्धान नै भएको छैन ।

छोरो राति १० देखि १२ सम्म ट्रेजरमा रहेको खुलेको छ । छोराको बैंक अकाउण्ट चेक गर्दा मध्यरात १२ः४५ बजेको समयमा किंग्स लाउञ्जमा १ हजार तिरेको देखिन्छ । त्यसबेलाको फुटेज किँग्स लाउञ्जले उपलब्ध गराउन म माग गर्दछु । छोराको मोबाइलबाट बिहान ६ बजेर ४९ मिनेटमा उसको साथी सहिष्णुलाई फोन गएको छ । बिहान नउठिसकेका कारण उसले उठाएको रहेनछ । जबकि ६ बजेर ४० मिनेटमै उसको शव फेवातालमा भेटिसकिएको छ भने मरेपछि कसले गरेको फोन ? अनि अहिलेसम्म फोन खै त ? प्रहरीले मोबाइल नै थाहा छैन भन्छ । प्रहरीले मोबाइल खोज्नुपर्यो नि । मेरो फोनमा ३:१५ मा म्यासेज आएको छ । ३:१८ उसले पठाएको म्यासेज नै नबुझिने शब्दमा अंग्रेजी लेटरहरु छ । त्यसको ५ मिनेटमै स्ट्रिट नं. १३ मा कुटपिट गरिएको छ । लछार्दै रोडमा आएपछि बल्ल पो सिसिटिभीमा देखियो, त्यसअघि देखि नै छोरोलाई पिटेको आँकलन गर्न सकिन्छ । उसले मलाई कुट्यो अंकल भनेर प्रहरीलाई भनिसकेपछि किन संरक्षण गर्न सकेन ? उसले होटल देखिनँ, चाबी र ब्याग पनि होटलमै छुट्यो । मैले लिएको बाइक पनि चिनिनँ भनेर प्रहरीलाई भन्दा प्रहरीले किन केहि वास्ता गरेन ? राति राति सुरक्षा गर्न भन्दै प्रहरी खटिएको के मतलब भयो ? कुटपिट भइरहँदा प्रहरीले किन हेरेन ? इन्स्पेक्टर श्याम थापा र सई कुलप्रसाद ढकाल सहितका प्रहरीहरु त्यो दिन ड्युटीमा हुनुहुन्थ्यो ।

छोराकै मोबाइलबाट राति २ बजेतिर उसका साथीहरु विप्लव र सुशान्तलाई पनि फोन गएको छ । प्रहरीले चाहिँ बिहान ३ बजेको समयमा ट्रेजर क्लब एरियामा रहेको बुझिएको भनेको छ । हामीलाई देखाइएको फुटेजमा पनि प्रहरीले छोरोलाई केरकार गरिरहेको, अन्य धेरै युवकहरुले हेरिरहेको देखिएको छ । कुटपिट भएको छ भन्ने थाहा पाउने प्रहरी त्यही युवक फेवातालमा मृत भेटिँदा आत्महत्या भनेर किन पटक पटक जाहेरी लिनै मानेन ? होटलदेखि मोटरसाइकल हायर गरिएको भनिएको छ । उसले ग१७प ११९८ नम्बरको मोटरसाइकल आफूले भाडामा लिएर आएको ठानेर स्टार्ट गर्न खोजेको भनिएको छ । त्यो मोटरसाइकल कसको हो ? बाइकका कुरामा त्यहाँ रहेका प्रहरीकै कुरा बाझिएको छ । किंग्स लाउञ्जको १२ः४५ को सिसिटिभी फुटेज र ट्रेजर लाउञ्जबारमा जडित सिसिटिभी फुटेज उपलब्ध गराउन किन सक्दैन प्रहरी ? अलिकति भन्दा किन देखाएन ? फुटेजबाट नै देखिन्थ्यो को को सँगै थिए भनेर । मुनडान्स नजिकै कुटिएको छ। त्यहाँको पनि फुटेज उपलब्ध गराउन म प्रहरीलाई भनेको छु ।

म यति मात्र चाहन्छु कि, त्यो रात कुटपिट भएपछि तालबाराही मन्दिर आसपासको फुटेज प्रहरीले तत्काल झिकाउनुपर्यो । नुभिव लकेसाइडको त्यो स्थान वरपर नै छ । उसलाई कसरी लगेर मारेर फाले ? त्यो हामीले थाहा पाउनुपर्छ । मेरो छोरो आईटी पढेको र चलाख छ । उसले आफूलाई अब मार्छन् भनेरै मलाई मोबाइलको पासवर्ड म्यासेज पठाएको हो । उसको एक जना साथी ऋतिक जैसवाल पनि पोखरा नै रहेको भन्ने बुझिएकाले यो सम्बन्धमा पनि अनुसन्धान होस् । कलेज छोडेको छोरो किन एक्लै पोखरा आयो ? यसतर्फ प्रहरीले बुझोस् । मेरो छोरोको मोबाइल जस्ताको तस्तै मेरो हातमा परेमा मैले नै थप कुरा थाहा पाउन सक्छु । तर, मरेपछि पनि फोन गरिरहेको मेरो छोराको मोबाइल कहाँ छ ? उसले बुक गरेको भनिएको होटल नै अहिले उठेको अवस्था छ ।

छोरोलाई मरणासन्न हुने गरी कुटिरहेका बेला बाटो हिँडेका सरोज भट्टराई नाम गरेका भाइले देखेर उसले रोकेर पुलिसलाई फोन गरेर बोलाएको छ । प्रहरी आएर ७–८ मिनेट गफ गर्दा समेत कुट्नेहरु त्यहीँ हुँदा पनि प्रहरीले उनीहरुलाई पक्रेको छैन । सबै घटनाक्रम हेर्दा मरणासन्न गरी पिटेर तालमा लगेर डुबाई मारेको प्रस्ट छ तर डुबेर मरेको भनी घटना लुकाऊन खोजेको छ । अहिले कुटपिट गरी मार्ने ३ जना हिरासतमा रहेको भएता पनि हामीलाई थप जानकारी दिन आलटाल गरी गल्ती ढाकछोप गर्न लागेकाले अनुसन्धान प्रभावकारी बनाइदिन भन्दै मैले विज्ञप्ति समेत जारी गरिसकेको छु । म आफै सञ्चारकर्मी र चलचित्रकर्मी पनि हुँ । म जस्ता मान्छेहरु त यसरी प्रताडित हुनुपर्छ भने आम सामान्य मान्छेले न्याय कसरी पाएको होला ?

के भन्छ प्रहरी ?

  • एसपी जीवनकुमार श्रेष्ठ,  (प्रमुख, जिल्ला प्रहरी कार्यालय कास्की)  

    प्रहरी कहिँकतै कमजोरी गरेको छैन । म आफै पनि बसेर बैदाममा डिएसपी सुवास र डिएसपी चिनिमायासहित अनुसन्धानका टीमहरु बसेर उहाँहरुलाई हाम्रो अनुसन्धानको प्रगति विवरण दिन मिल्नेसम्म सबैकुराहरु अवगत गराएका छौँ । तीन जनालाई हिरासतमा लिएर, अनुसन्धान प्रक्रिया अघि बढाएर, जहाँसम्म लाग्छ आज सरकारी वकिल कार्यालयमा पेश भएको हुनुपर्छ बैदामबाट । हामीले प्रमाण संकलनका लागि मेहनत गरेका छौँ । अनुसन्धान प्रक्रिया चुस्त दुरुस्त रुपमा अघि बढाएको अवस्था छ । पोष्टमार्टम रिपोर्ट मिसिलमा उल्लेख हुने भएर कानुनतः मैले बताउन मिल्दैन । सरकारी वकिलको कार्यालयबाट अभियोजन भएर अदालतमा जाने हो । वडाबाट गरिएको अनुसन्धानलाई थप बल पुगोस् भनेर जिल्लाबाट समेत संयुक्त रुपमा अनुसन्धान भइरहेको अवस्था छ । हामीले तीन जना पक्राउ गरेपछि तपाईंहरु पनि आउनुस्, थप केही छ कि तपाईंहरुको भनेर परिवारलाई समेत बोलाएका हौँ । र किटानी जाहेरी समेत दिइएको अवस्था छ । अनि प्रहरीले नगरेको भन्न मिल्दैन ।

  • डिएसपी सुवास हमाल (प्रवक्ता, जिल्ला प्रहरी कार्यालय, कास्की)

    अनुसन्धान प्रक्रियामा कहिँ कतै त्रुटी छैन । घरपरिवारलाई नै पोखरा बोलाएर प्रत्येक घटनाको एक–एक विवरण पनि म आफै सहभागी भएर बुझाएको छु । मुद्धा वडा प्रहरी कार्यालय बैदाममार्फत चलेको छ । म स्वयं खटिएको छु । क्लबमा भनाभनपछि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोहि अनुसार तीन जना पक्राउ परिसकेका छन् । घटनाको ३–४ दिनपछि नै २ जना पक्राउ परे । त्यसको भोलिपल्ट अर्का एक जना पनि पक्रियौँ । अनुसन्धानमा खुलेका कुराहरु दिन मिल्नेसम्म दिएका छौँ । सिसिटिभी फुटेजहरु पनि उहाँहरुलाई देखाइएको छ । अनि प्रहरीले सहयोग नगरेको कसरी हुन्छ ? 

वडा प्रहरी कार्यालय बैदामकी प्रमुख डिएसपी चिनिमाया तामाङलाई जेठ २ गते बेलुका ९ः१४ मा फोन गर्दा उठेन । जेठ ३ गते अपरान्ह ५ बजेर ११ मिनेटमा फोन गर्दा उठाएर पनि बुझिएन भनेर काटिन् । लगत्तै गर्दा फोन उठेन ।

फलोअप समाचारः

फलोअपः नुभिवलाई कुटपिट गर्ने २ जना पुर्पक्षका लागि जेल चलान, एक सुधारगृहमा

पोखरा । गत वैशाख ४ गते फेवातालमा मृत भेटिएका नुभिव उप्रेतिको घटनामा मुछिएका पोखरा घारीपाटन बस्ने ३ जना युवकमध्ये २ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । उमेर नपुगेका एक जनालाई सुधार गृह पठाइएको छ । बिगेन गुरुङ र बासुदेव गुरुङ जेल चलान भएका छन्

कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बाँकी प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल मुद्धा पुर्पक्षमा जाने भन्ने आदेश दिएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए ।

आदेशमा भनिएको छ- ‘तत्काल प्राप्त प्रमाण समेतबाट प्रतिवादीहरूका हकमा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) (क) को अवस्था विद्यमानता देखिदा पछि ठहरेबमोजिम हुनेगरी हाललाई पुर्पक्षका लागि प्रतिवादीहरू विगेन गुरुङ र वासुदेव गुरुङलाई ऐ. संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय कास्कीमा पठाइदिनू भनी ऐ. संहिताको दफा ७९ बमोजिम यो थुनछेक आदेश गरिदिएको छ ।’

यस्तै, उमेर नपुगेका अभियुक्तको हकमा आदेशमा भनिएको छ- ‘तत्काल प्राप्त सम्पूर्ण प्रमाणहरूबाट यी कानूनको विवादमा परेका बालकको वारदातमा रहेको संलग्नतालाई हाल अन्यथा मान्न मिल्ने नदेखिएबाट निज कानूनको विवादमा परेका बालक परिवर्तित नाम, थर २०७८ बैदाम-१४ लाई कानूनबमोजिमको सुविधा पाउने गरी बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) बमोजिम बाल सुधारगृह सराङकोट कास्कीमा राख्न पठाउनू भनी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ को प्रयोजनार्थ प्रस्तुत आदेश गरिदिएको छ ।’

विहीबार नै मुद्धाको पेशी चढेको थियो । आफ्नो छोराको मनसाय पूर्वक हत्या गरेको भन्दै नुभिवकी आमा भगवती कुमारी मैनाली उप्रेतिले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।

जेठ ३ गते बिगेन गुरुङ र बासुदेव गुरुङ तथा जेठ ४ गते अर्का युवक (परिवर्तित नाम २०७८ बैदाम १४, उमेर नपुगेकाले) विरुद्ध मुद्धा दर्ता भएको थियो । जेठ ६ गते नै अभियुक्तको बयानसहित वादी र प्रतिवादीको बहस सकिएको हो ।

अभियुक्त ३ जनालाई कोरोना संक्रमण भएपछि बयान लिने काम पनि प्रभावित भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले २१ दिनभित्रै सबै सबुद प्रमाण संकलन गरी बुझाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

भर्चुअल (श्रव्य-दृश्य) माध्यमबाट जाहेरवाला तथा प्रतिवादीको तर्फबाट गरिएको बहस न्यायाधीश भट्टराईले अदालतबाटै सुनेका थिए । पोखरा, मकवानपुर र काठमाण्डौबाट कानून व्यवसायी भर्चुअल (श्रव्य-दृश्य) माध्यमबाट जोडिएर बहस गरेका थिए ।  जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता रुद्रप्रसाद सुवेदी, सह न्यायाधिवक्ता मदन शर्मा, साथै जाहेरवालाको तर्फबाट अधिवक्ताहरु ईन्द्रप्रसाद शर्मा, भीमप्रसाद धिमाल, बसन्त जोशी, शालिकराम सापकोटाले बहस पैरवी गरेका थिए । प्रतिवादी तीनै जनाको तर्फबाट  हरिप्रसाद सुवेदीले बहस गरेका थिए ।

ललितपुरबाट वैशाख ३ गते पोखरा आएका १८ वर्षीय नुभिवलाई लेकसाइडमा तीन युवाहरुले रातभर निर्घात कुटपिट गरेका थिए । कुटपिट गर्ने युवकहरु खोटाङ, ऐंसेलुखर्क गाउँपालिका वडा नं. २ घर भई कास्की पोखरा वडा नं. ७ घारीपाटन बस्ने १८ वर्षीय आशिष राई, स्याङ्जा फेदीखोला २ घर भई घारीपाटन नै बस्ने १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी ६ घर भई घारीपाटन बस्ने १९ वर्षका बासुदेव गुरुङ थिए ।

लेकसाइडको स्ट्रीट नं. १३ चोकमा यी ३ जना मिलेर नुभिवलाई मरणासन्न हुने गरी कुटपिट गरिएको सिसिटिभी फुटेज गण्डकन्यूजले सार्वजनिक गरेको थियो । उनीहरुले आफूले कुटपिट गरेको तर हत्या नगरेको बयान दिएका छन् । घटना प्रत्यक्ष देखेका सबैजसोले मृतक नुभिवले सो बेला मादक पद्धार्थ सेवन गरेको बयान दिएका छन् । नुभिवका साथीहरुले पनि घरमा कडाई हुँदा निराशा व्यक्त गर्ने गरेको, गाँजा/चुरोट सेवन गर्ने गरेको बयान दिएका छन् । सुरुमा प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या भनेको प्रहरी सिसिटिभी फुटेज प्राप्त भएपछि थप अनुसन्धान गर्दै जाँदा हत्या भएको निश्कर्षमा पुगेको थियो । र, सोहि अनुसार कारबाही प्रक्रिया अघि बढाएको थियो ।

अहिले सामाजिक सञ्जाल टुइटरमा #JusticeForNubhiv ह्यासट्याग ट्रेण्डिङ नम्बर वानमा छ । नुभिवको न्यायको लागि युवाहरुले सामाजिक सञ्जालमा सशक्त ढंगले अभियान नै छेडेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर
Breaking 1

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट
Main News 1

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
Breaking 2

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण
Main News 1

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
Breaking 2

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

by राम बहादुर रोकाहा
2025 May 8 मा प्रकाशित
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
Main News 1

आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

by राम बहादुर रोकाहा
2025 May 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

2025 May 9 मा प्रकाशित
स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

2025 May 9 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

2025 May 9 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

2025 May 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews