जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अप्रेसन टोलीले अर्जुनचौपारी गाउँपालिका–१ जिरो चोकबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो सवारीसाधन चेकजाँचका क्रममा ना ३२ प ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट विभिन्न प्रकारका लागूऔषध फेला परेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेमा अर्जुनचौपारी–१ निवासी २९ वर्षीय उत्तम बहादुर थापा मगर र सोही स्थानका २७ वर्षीय अनिस थापामगर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट डाइजेपाम इन्जेक्सन आईपी ५ एम्पुल, फेनेरगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल गरी जम्मा १५ एम्पुल बरामद गरिएको छ । साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल र दुई थान मोबाइल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














