यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले स्याङ्जाका लागि आफ्ना प्राथमिकता र योजनासहित सङ्कल्पपत्र सार्वजनिक गरेको छ । उम्मेदवारद्वय भरतराज ढकाल र भागवत प्रकाश मल्लले स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोटका साथ संकल्पपत्र सार्वजनिक गरेका हुन् ।
शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा केन्द्रित संकल्पपत्र सार्वजनिक गर्दै उनीहरूले युवा पुस्ताको आकांक्षा सम्बोधन गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाए । “अब विकास भाषणमा होइन, व्यवहारमा देखिनेछ,” उनीहरुको भनाइ छ ।
केके छ संकल्पपत्रमा ?
स्याङ्जाको आर्थिक मेरुदण्ड मानिने सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा सडक)लाई ‘डेडिकेटेड टु–लेन’मा स्तरोन्नति गर्ने कामलाई मुख्य प्राथमिकतामा राखिएको छ । साथै आँधीखोला बहुउद्देश्यीय विद्युत् परियोजना अघि बढाएर ऊर्जा र सिंचाइ दुवै क्षेत्रमा फाइदा पुर्याउने योजना प्रस्तुत गरिएको छ ।
पूर्वाधारतर्फ ग्रामीण सडकहरूलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने गरी कालोपत्रे गर्ने, सबै वडा केन्द्र जोड्ने तथा ‘एक घर, एक धारा’ अभियानमार्फत शतप्रतिशत स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै किसानका समस्या समाधानका लागि ठोस योजना अघि सारिएको छ । बाली नोक्सानीमा क्षतिपूर्ति, बाँदरको वैज्ञानिक व्यवस्थापन तथा स्थानान्तरण, कृषि पेसामा संलग्न कृषकका सन्तानलाई विशेष छात्रवृत्ति, र बाँझो जमिन उपयोगमा ल्याउन ‘साझेदारी कृषि प्रणाली’ लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
स्वास्थ्य सेवा विस्तारका लागि प्रत्येक वडामा विशेषज्ञसहितको प्राथमिक स्वास्थ्य क्लिनिक स्थापना गर्ने तथा अनिवार्य स्वास्थ्य बिमा प्रभावकारी रूपमा लागू गर्ने योजना समेटिएको छ ।
पर्यटनतर्फ ‘स्वरेकको उडान, स्याङ्जाको पहिचान’ भन्ने नारासहित स्वरेक मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ तथा प्यारा–प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । साथै नुवाकोट, डहरे देउराली र सतौँ चण्डीथानलाई पर्यटकीय सर्किटमा जोड्दै होम–स्टे प्रवर्द्धन गरिने उल्लेख छ ।
जिल्लाको समग्र आर्थिक विकासका लागि सबै मतदाताको स्वामित्व रहने गरी एक वृहत् पब्लिक कम्पनी स्थापना गर्ने प्रस्ताव पनि अघि सारिएको छ । उक्त कम्पनीमार्फत कृषि र पर्यटनका ठूला परियोजना सञ्चालन गरी युवालाई आफ्नै भूमिमा उद्यमशीलता र प्राविधिक दक्षतामा जोड्ने योजना रहेको बताइएको छ ।
कांग्रेस उम्मेदवारहरूले बीपी कोइरालाको आर्थिक सोचलाई वर्तमान आवश्यकतासँग सन्तुलन गर्दै स्याङ्जालीको जीवनस्तर उकास्ने दृढता व्यक्त गरेका छन् । अब मतदाताले यी प्रतिबद्धतालाई कसरी ग्रहण गर्छन्, त्यो भने फागुन २१ ले तय गर्नेछ ।














