गाउँ आउने पर्यटकबाट हुने फाइदा सबै गाउँलेले समान रूपमा पाउन भन्ने उद्देश्यसहित सञ्चालन गरिएको अयरपानी सामुदायिक होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेको यस होमस्टेमा अहिले दैनिकजसो पर्यटकको चहलपहल बढेको छ ।
मौलिक गाउँले परिवेश, गुरुङ संस्कृति र स्थानीय परिकार नै अयरेपानी होमस्टेको मुख्य आकर्षण बनेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको यो होमस्टेमा पुग्ने पर्यटकले अर्गानिक खानासँगै उत्तरतर्फ देखिने दर्जनौँ हिमालको अवलोकन गर्न पाउने भएकाले बसाइँलाई अझै यादगार बनाउने गरेका छन् ।
गुरुङ समुदायको बाहुल्य रहेको गाउँमा अहिले पनि मौलिक संस्कार र संस्कृति जस्ताको तस्तै जोगिएका छन् । ती संस्कृतिको संरक्षण र प्रवर्द्धनमा होमस्टेले महत्त्वपूर्ण भूमिका खेलिरहेको अयरपानी होमस्टे पुगेका आन्तरिक पर्यटक सन्दिप रोकाहाले बताए । उनले भने, “स्थानीय परिकार र संस्कृतिसँग घरबासलाई जोडिएकै कारण यहाँ आउने पर्यटकले अन्यत्रभन्दा फरक अनुभूति गर्ने गरेका छन् ।”
सामुदायिक भावनाबाट होमस्टे सुरु गरिएको होमस्टे सञ्चालक सपना गुरुङले बताइन् । उनले भनिन्, “गाउँमा आउने पाहुनाबाट हुने आम्दानी सबै घरधुरीले समान रूपमा पाओस् भन्ने हाम्रो उद्देश्य हो । पाहुनाले यहाँको संस्कृति, खाना र आत्मीयतालाई मन पराएका छन्, त्यसैले एक पटक आएका पर्यटकले फेरि अरूलाई पनि ल्याउने गरेका छन् ।”
सिद्धार्थ राजमार्गको कुभिन्डेबाट करिब सात किलोमिटरको दूरीमा रहेको अयरपानी होमस्टेमा पुग्न सहज रहेको छ । प्रचारप्रसारमा खासै खर्च नगरे पनि पर्यटककै अनुभव र सिफारिसका कारण होमस्टे दिनप्रतिदिन फस्टाउँदै गएको छ ।
स्थानीयको पहलमा सञ्चालित यो होमस्टेको थप प्रवर्द्धनका लागि सरकारी तथा गैरसरकारी निकायबाट सहयोग मिल्ने हो भने देशकै नमुना सामुदायिक होमस्टे बन्न सक्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।














