जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका -१४ पिपलडालीका ५७ वर्षीय मेग बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
२०६९ भदौ २७ गते पुतलीबजार -१४ स्थित ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई २०७३ मंसिर २३ गते स्याङ्जा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । सजायपछि उनी विदेशतिर लुकेर बस्दै आएको प्रहरी निरीक्षक कार्कीले बताए ।
२०८२ मंसिर १६ गते भुजेल घरबाटै पक्राउ परेपछि बुधबार अदालतमा उपस्थित गराइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । अदालतको आदेशअनुसार भुजेललाई जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ ।














