जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षामा अर्जुनचौपारी गाउँपालिका –२ जिल्लामै पहिलो बनेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मूल्यांकनमा अर्जुनचौपारी –२ स्थित अर्जुनचौपारी स्वास्थ्य चौकी ९०.४ अंकसहित पहिलो बनेको हो ।
मूल्यांकन परिणामअनुसार ९७ वडामध्ये ८९.८ अंकसहित बिरुवा गाउँपालिका –१ स्थित बिरुवा स्वास्थ्य चौकी दोस्रो र भीरकोट नगरपालिका –६ स्थित खिलुङ देउराली स्वास्थ्य चौकी ८९.५ अंकसहित तेस्रो बनेको खोप कार्यक्रम संयोजक मनिष कुमार महतोले जानकारी दिए ।
कार्यक्रमका क्रममा स्वास्थ्य सूचककाअनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थाहरूलाई सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सम्मान-पत्र प्रदान गरेका थिए ।
समीक्षाले स्वास्थ्य सेवा सुधार, मातृ–शिशु स्वास्थ्य, पोषण, सरसफाइ र स्थानीय स्वास्थ्य कार्यक्रमको प्रभावकारिताबारे विश्लेषण गरेको जनाइएको छ । जनस्वास्थ्य कार्यालयले आगामी वर्ष समुदायमै पुगेर सेवा विस्तार र गुणस्तर अभिवृद्धिको लक्ष्य तय गरेको कार्यालय प्रमुख जनस्वास्थ्य प्रशाशक केशव प्रसाद चापागाईंले बताए ।
जनस्वास्थ्य कार्यालयले हरेक वर्ष विभिन्न सूचकका आधारमा स्थानीय तहको स्वास्थ्य गतिविधि मूल्यांकन गर्दै आएको छ ।
दुई दिनसम्म सञ्चालन भएको समीक्षा गोष्ठीमा ११ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्थित अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखहरु र स्वास्थ्य कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।














