स्याङ्जाको पुतलीबजार नगरपालिका –४ नागडाँडा भालुपहाडस्थित एक होटलमा खाजा खाइ बस चढ्ने क्रममा यात्रु र सहचालकमाथि कुटपिट गरी गाडीको सिसा तथा लाइटसमेत तोडफोड गर्ने घटनामा संलग्न दुईजना पक्राउ परेका छन् ।
घटना भदौ ७ गते शनिबार बिहान ४:३० बजे भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले सो घटनामा संलग्न दुईजनालाई आइतबार पुतलीबजार नगरपलिका –४ ठूलीबेसीबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुतलीबजार –४ ठूलीबेसीका २७ वर्षीय अजय परियार र २१ वर्षीय निर्मल परियार रहेका छन् । जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार कसूरमा उनीहरूलाई १० दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।