जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चेक अनादर मुद्दामा अदालतबाट फैसला भई जरिवाना भुक्तान नगरी फरार रहेका तीन जना कसूरदारलाई पक्राउ गरेको छ । स्याङ्जा प्रहरीले जरिवाना तिर्न बाँकी रहेका तीन जना फरार कसूरदारलाई विशेष अपरेसनमार्फत पक्राउ गरी अदालतमा उपस्थित गराएको हो ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित २०८२ साल साउन ५ गते खटिएको विशेष अपरेसन टोलीले उनीहरूलाई पक्राउ गरी जरिवाना असुलीका लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ परेकामध्ये स्याङ्जा वालिङ नगरपालिका वडा नं. ८ की निर कुमारी जैसी, चापाकोट नगरपालिका वडा नं. १० का आश्रित पंगेनी, र नवलपरासी सुस्ता पूर्व घर भई हाल वालिङ नगरपालिका वडा नं. ९ मा बसोबास गर्दै आएका तेज प्रसाद पाठक रहेका छन् ।
तिनीहरूलाई अदालतको आदेश अनुसार जनही दुई सय रुपैयाँका दरले कुल छ सय रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले अदालतका फैसलाको सम्मान गर्दै कानूनको शासनलाई बलियो बनाउने उद्देश्यले अपरेसन गरिएको जानकारी दिए ।
जिल्ला प्रहरीले यस किसिमका कानून विपरीतका कार्यमा संलग्न फरार अभियुक्तहरूको खोजी र पक्राउ कार्यलाई थप तीव्र बनाउने जनाएको छ ।