लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने दुईजना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका वडा नं. १ प्रगतिनगर र वडा नं. ४ नागडाँडास्थित सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले “ला.प.से. चेकिङ अभियान” अन्तर्गत गरिएको चेकजाँचमा लापसे गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
निजी तथा सार्वजनिक सवारीसाधन चालकलाई लापसे गरे/नगरेको चेकजाँच गर्दा दुईजना चालकले लापसे (गाँजा सेवन) गरी सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताए ।
पक्राउ पर्नेमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नं. -५ का २३ वर्षीय बोलेरो जीप चालक गोविन्द बहादुर सुनार र आँधीखोला गाउँपालिका वडा नं. -६ का २६ वर्षीय ट्याक्टर चालक विशाल दर्जी रहेको प्रवक्ता चौधरीले बताए ।
प्रवक्ता चौधरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाइएको बताए ।
यसअघि पनि पटकपटक प्रहरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई पक्राउ गरी कारबाही गर्दैआएको छ ।