स्याङ्जाको वालिङ् नगरपालिकाबाट सुन चोरीको आरोपमा दुईजना पक्राउ परेका छन् ।
चापाकोट नगरपालिका -४ घर भई हाल वालिङ् नगरपालिका -६ बस्ने ३४ वर्षीया दिपा क्षेत्री र वालिङ् नगरपालिका -९ बस्ने ३२ वर्षीय दुर्गा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यही असार १७ गते वालिङ् नगरपालिका -६ स्थित थानकुमारी पाण्डेको घरबाट सुन चोरी भएको थियो । पाण्डेको घरबाट सुन चोरी भएको सूचनाको आधारमा दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट अन्दाजी आधा तोला बराबरको सुनले जडान गरिएको पञ्चरत्ने बाला दुई थान बरामद गरिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
उनीहरुलाई शुक्रबार स्याङ्जा अदालतबाट दस दिनको म्याद थप अनुमति लिएर चोरी मुद्दामा वडा प्रहरी कार्यालय वालिङ्बाट आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
वालिङ आसपासका क्षेत्रमा विगतका दिनहरूमा पनि घरभित्र पसी मानिसले लगाएका सुनहरू थुत्ने र चोर्ने जस्ता कार्यहरू भइरहेको र यस्ता घटनाहरूहरूबाट सचेत रहन र संकास्पद व्यक्तिहरू हिडडुल गरेको पाइएमा तुरून्तै नजिकको प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।