कक्षा ११ पढ्ने युवक थुनामा, आरोपित १४ वर्षीय बालक अभिभावकको जिम्मामा
पोखरा महानगरपालिका वडा नंं. २६ मा सिर्जना बहिरा माध्यमिक विद्यालय छ । जहाँ सुन्न र बोल्न असमर्थ बालबालिकाहरू पढ्दै आएका छन् । सम्भव हुने आफ्ना घरबाटै र टाढा घर तथा बाहिरी जिल्लाका विद्यार्थीहरू छात्रावासमा बसेर पढ्छन् । नेपालभर बहिरा (सुस्त श्रवण) भएकाहरू अध्ययन गर्ने २५ विद्यालय छन् ।
सिर्जना बहिरा मावि अहिले चर्चामा रहेको छ । यस विद्यालयमा अध्ययनरत दुई छात्रले दुई छात्रालाई करणी गरी गर्भवतीसमेत बनाएको घटना ढिला गरी सार्वजनिक भयो । १९ दिनको फरकमा कानुनी प्रक्रियामा गएका यी दुई गम्भीर घटना सार्वजनिक भएपछि विद्यालयबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
घटना १ः
कक्षा ११ पढ्ने २० वर्षीय विजय विक हिरासतमा छन् । कास्की जिल्ला अदालतले अभियुक्त विकलाई पुर्पक्षमा रहने गरी कारागार चलान गर्न आदेश दिएपछि उनी अहिले कास्की जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी मुद्धामा जिल्ला अदालत कास्कीको आदेशानुसार थुनामा पठाइएको हो ।
कपिलवस्तु घर भएका सिर्जना बहिरा माविका विद्यार्थी यी युवक होस्टेलमा बस्दै आएका थिए । बिकले सोहि विद्यालयमा अध्ययनरत किशोरीलाई करणी गरी गर्भवतीसमेत बनाएको र किशोरीका परिवारले थाहा पाएपछि विद्यालय प्रशासनसहित प्रहरीकहाँ उजुरी दिएका थिए ।
बिकका परिवारले भने फसाइएको जिकिर गरेको छ । बिकका आफन्त प्रविण बिसीले विजयलाई झुट्टा मुद्धा लगाएर पक्राउ गरिएको मिडियासमक्ष बताएका छन् । बिदाको समयमा घर पुगेको व्यक्तिलाई आरोप लगाएर फसाएको बिकका परिवारको भनाई छ । उनलाई पुस ४ गते पक्राउ गरिएको थियो ।
घटना २ः
विद्यालयमै अध्ययन गर्ने १४ वर्षका एक बालकलाई १४ वर्षिया बालिका (जन्मदर्ता अनुसार १३ वर्ष) सँग यौनसम्बन्ध कायम गरी गर्भवती बनाएको आरोप छ । पुस २३ गते सार्वजनिक यस घटनासँग सम्बन्धित बालिकाले सोमबार मात्रै बच्चा जन्माइसकेकी छिन् । असहाय र हिंसापीडित बालिका तथा महिलाहरुको क्षेत्रमा क्रियाशील पोखराकै एक गैरसरकारी संस्थाले उनलाई आश्रय दिएर राखेको छ ।
कक्षा ५ मा पढ्ने छात्रलाई भने नाबालक भएकाले अनुसन्धान र कानुनी प्रक्रियामा सघाउने गरी हाललाई अभिभावकको जिम्मामा पठाइएको एसपी ओलियाले गण्डकन्यूजलाई जानकारी दिए । ‘केटा र केटी दुवै उमेर नपुगेको नाबालिग हुनाले आवश्यक अनुसन्धानमा अनिवार्य उपस्थित गराउने गरी हाललाई अभिभावकको जिम्मा लगाइएको छ ।’ एसपी ओलियाले भने । माघ १८ गतेदेखि नै बालक अभिभावकको जिम्मामा छन् ।
बालिकाका परिवारले बालक विरुद्ध जबर्जस्ती करणी मुद्धामा जाहेरी दिएका थिए । बालकले कहिले घटनामा संग्लग्नता नस्विकार्ने, कहिले स्विकार्ने तर घटना भएको स्थलबारे फरक फरक बयान दिएको श्रोत बताउँछ ।
होस्टल राखेर पढाएकी छोरी गर्भवती भएर बच्चा पाउन लागेको थाहा भएपछि बालिकाका आफन्तले आफूहरु निकै दुःखी भएको बताएका छन् । छोरी गर्भवती हुनुको सम्पूर्ण दोष विद्यालयको रहेको उनीहरुको आरोप छ ।
के भन्छ विद्यालय प्रशासन ?
विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारीले जानकारी दिए अनुसार २०४४ मा स्थापित यस विद्यालयमा अहिले २१० जना विद्यार्थी र ३४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
१४० जना विद्यार्थी छात्राबासमा र बाहिरी विद्यार्थी ७० जना छन् । शिक्षक २३ जना छन् । होस्टलमा विद्यार्थीलाई हेर्ने कर्मचारी जम्मा ५ जना छन्, जुन अपुग रहेको उनी बताउँछन् ।
विद्यालयमा ४–५ कक्षा पढ्ने, १४ वर्षदेखिका विद्यार्थीहरू यस्तो घटनामा संलग्न रहुन्जेलसम्म विद्यालय कतिको गम्भिर बन्यो ? भन्ने गण्डकन्यूजको प्रश्नमा प्रअ भण्डारीको भनाई संक्षेपमाः
‘सबैलाई लागे जसरी नै घटना अत्यन्त गम्भिर हो । सामान्य भन्नै मिल्दैन । नघट्नुपर्ने घटना हो । स्वस्थ हुँदाहुँदै हामीलाई हर्ट अट्याक हुन्छ । राम्रो सडकमा पनि दुर्घटना हुन्छ । त्यस्तै भयो, यो हाम्रो लागि हर्ट अट्याक नै हो । म अत्यन्त दुःखी छु । प्रहरी प्रशासन र अदालतले गहन तबरले अनुसन्धान गरिरहेको विषय हो । हाम्रो चाहना पछि यही हो, दोषी उम्कनु भएन, निर्दोषी फस्नुभएन ।
अब यसलाई व्यवहारिक पक्षमा बुझौँ भन्न चाहन्छु । एक त सबलाङ्गहरू पढ्ने विद्यालय होइन, अपाङ्गता भएका व्यक्तिहरू जो सामान्य उमेरभन्दा अलिक बढी नै उमेरदेखि पढ्न थालेका हुन्छन् । उनीहरुलाई हामीले गर्ने ट्रिट बेग्लै हुन्छ । सामान्य बालबालिका भए सबैलाई अनुशासन र नियममा राख्न सजिलो, सहज वार्तालाप तथा सञ्चार हुन्थ्यो । जनशक्ति असाध्यै थोरै छ । ४–५ जनाले १ सय ४० जना हेर्नुपर्छ । भौतिक संरचना असाध्यै सानो र साँघुरो छ । यस्ता घटना नेपालका अरु जिल्लामा नभएका होइनन् । अन्यत्र त मान्छे समेत मरेका छन् ।
यो घटना पनि ४–५ महिना अघिको हो, अहिले खुलिरहेको छ, सार्वजनिक भएको छ । विद्यालय प्रशासनले सहयोग गरेन भन्ने पनि सुनेँ, प्रशासन नै घटनामा दोषीलाई कारबाहीका लागि अभिभावकका साथमा प्रहरीसमक्ष पुगेको हो । अपांगता भएका व्यक्तिहरु पढ्ने र कर्णाली, सुदूरसम्मका विद्यार्थी रहने भएकाले संवेदनशीलतालाई ध्यानमा राखेर हामीले भित्रभित्रै कानुनी उपचारमा गएका हौं । लुकाएको भने होइन । किनकि, हाम्रो विद्यालय संवेदनशील क्षेत्र हो । यो सबैले ख्याल गर्न जरुरी छ । हामी विद्यालयका शिक्षकले, कर्मचारीले देख्दा देख्दै ख्याल नगरेको हो र ?
घटना हामी आफैले सार्वजनिक गरेर बाँकी अरू बालबालिकाका अभिभावक र परिवारलाई पीडा दिनपर्छ भन्ने हो र ? यस्ता घटना हुन नदिएर विश्वासको वातावरण बनाउने पो हो । यस घटनापछि हामीले निकै गम्भिर भएर सचेतना अपनाएका छौँ । यसअघि पनि नअपनाएको भने होइन ।
हातहातमा मोबाइल छ । नदिम् भने परिवारसँग टाढा छन्, सम्पर्क गर्नुपर्छ । मोबाइल साथमा छ, किशोरावस्थाको मन मस्तिस्कमा के सोच हुन्छ ? नजानेको र नहेरेको के हुन्छ ? हामी सबैलाई थाहै छ । हाम्रो भौतिक संरचनाका कारण छात्र र छात्रालाई पूरै अलग राख्न सक्ने अवस्था छैन । तर पनि खाना खाँदा बाहेक बस्ने ठाउँ अलग्गै हो । उनीहरु सधैं होस्टल कम्पाउण्डम भित्रै रहन्छन् भन्ने अवस्था पनि छैन ।
दुई घटनालाई अनुसन्धान गरी हेर्दा डाक्टरका रिपोर्ट र रजस्वला बन्द समय हेर्दा लामो बिदा भएको समयतिर पनि छ । बाहिर गएर उनीहरुबीच अनैतिक कार्य भएमा यसमा विद्यालय कसरी दोषी हुन्छ ? हामीले कसरी जिम्मेवारी लिने ? होस्टल बस्दा जिम्मा हाम्रै हो । हाम्रै जिम्मामा अभिभावकले बालबालिका छाड्ने हुन्, जिम्मा नहुने भन्ने होइन । व्यवहारिक पाटो हेर्नुस् न, सधैं होस्टलको कम्पाण्डमै राख्ने, छात्र र छात्राहरु देखभेट नै हुन नदिने गरी त हामीसँग स्रोत साधन नै छैन । तर, समस्या छ भन्दैमा यस्तै छ, भैहाल्छ नि भन्ने पनि होइन फेरि ।
सिर्जना बहिरा स्कूलमा असुरक्षित छ, छोरीहरु सुरक्षित रहन्नन् भन्ने भाष्य सिर्जना नगरिदिनुहुन अनुरोध गर्दछु । फेरि भन्छु, सामान्य व्यक्तिहरु पढ्ने विद्यालय नभएको र अपांगता भएका बालबालबालिकाहरू रहेका कारण उही तरिकाले हामीले ट्रिट गर्नै सक्दैनौं । अन्य जिल्लाका विद्यालयहरुमा पनि यस्ता समस्याले विद्यालय प्रशासनलाई टाउको दुखाईको विषय बनिरहेको छ । मात्रै के हो भने, विद्यालय असुरक्षित छ भनेर हल्ला नफैलाऔं । यस्तो सन्देश गयो भने यो विद्यालयका लागि ठूलो दुर्घटना हुन्छ । यहाँको समाज भए बुझ्थे तर कर्णाली, दार्चुला, सुदूरका जिल्लाहरुका अभिभावकले कसरी बुझ्ने ?
टाढा टाढाबाट अभिभावकको फोन आउन थालेको छ । रुँदै चिन्ता गर्नुभएको छ । यस्ता घटना हुन नदिन हामी सचेत नै छौं तर संरचना र जनशक्तिका सवालमा हामीलाई सहयोग गनुपर्छ । हामीसँग विद्यार्थी धेरै छन् । उनीहरुलाई रेखदेख गर्ने जनशक्ति र राख्ने संरचना छैन ।
अब कक्षा १० सम्मका विद्यार्थीहरुलाई मोबाइल नियन्त्रणमा राखेका छौँ । आवश्यक पर्दा दिने नत्र वार्डेनलाई बुझाउने नियम बनाइसकिएको छ । कक्षा १२ सम्मलाई नै यो गर्ने विचारमा छौं । यो घटनापछि फेरि सँगै विद्यालय पढ्ने बालक र बालिकाबीच यस्ता हर्कत हुन नदिन के गर्ने भन्ने विषयमा अभिभावकहरु, पत्रकार, प्रशासन, अपांगता क्षेत्रमा क्रियाशील संघसंस्था, अधिकारवादी, नागरिक समाजबीच एउटा वृहत कार्यक्रम गर्ने योजनामा छौँ ।
बहिरा विद्यालयहरु सबै ठाउँमा नभएकाले देशका विभिन्न जिल्लाका टाढा टाढाका विद्यार्थीहरु आउँछन् । हाम्रै विद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थीहरु पढेर गइसके । अहिले ४६ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । कति जिल्लाका विद्यालयले त होस्टल हटाउन थालिसके । हामी पनि के गर्ने हो ? सर्वपक्षीय छलफल गरेर अघि बढ्नेछौं ।
छात्र र छात्राबीच विद्यालय वा होस्टल तथा बाहिर नै किन नहोस् ? अनैतिक कार्य हुने अवस्था हुनुहुँदैन भन्नेमा हामी सचेत छौं भनेर फेरि भन्न चाहन्छु । उनीहरुको उमेर नै कच्चा र के गर्ने , नगर्ने थाहा नहुने भएकाले पनि मोबाइल प्रविधिले यो अवस्थासम्म आइपुगेको भन्ने मेरो ठहर छ । नत्र ४० वर्ष हुन लागेको विद्यालय के यति दुई घटनाले असुरक्षित नै भयो भन्न मिल्छ त ? जे नहोस् भनिन्थ्यो, त्यो भयो अब हुन नदिनेतर्फ हामी सबै पक्ष लाग्नुर्पछ । विद्यार्थीहरु ईमान्दार हुने हो, विद्यालय प्रशासन, अभिभावक र सरोकारवाला सबै पक्ष जिम्मेवार ढंगले समस्या समाधानमा लाग्नुपर्छ । यो दोषारोपण गर्ने बेला पनि होइन । घटना दोहोरिन नदिनेतर्फ हामी गम्भिर हुनुपर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-