पोखरा महानगरपालिका वडा नं. १ मा आयोजित वृहत् स्वास्थ्य शिविरबाट सयौँ वडाबासी लाभान्वित भएका छन् ।
पोखरा वडा नं. १ को आयोजना, मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा सहरी स्वास्थ्य केन्द्र पोखरा-१ को सहकार्यमा नाक, कान र घाँटी परीक्षण सम्बन्धी बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविर शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले महानगपालिका नगरबासीको स्वास्थ्यप्रति संवेदनशील रहेको बताइन् ।
नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिकाले वडा स्तरीय सहरी स्वास्थ्य केन्द्र, महानगरपालिका स्तरीय सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेत सञ्चालन गरिरहेको उनले बताइन् ।
वडा नं. १ का अध्यक्ष सहारा प्रधानले वडामा रहेका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताए ।
शिविरमा सयौँ वडावासीले आफ्नो स्वास्थ्य परीक्षण गराएको जानकारी दिँदै उनले प्राविधिक सहयोग गरेकोमा मणिपाल अस्पतालप्रति धन्यवाद प्रकट गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-