पोखरा ११ रानीपौवामा आइतबार राति दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
महेन्द्रपुलबाट रानीपौवातर्फ जाँदै गरेको ग१३प ७४०५ नम्बरको स्कुटर र विपरित दिशाबाट आइरहेको ग१६प ९९०८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल ना ५ ख १२३ नम्बरको पर्यटक बस अगाडि ठक्कर खान पुगेको थियो ।
मोटरसाइकल चालकको साथमा १९ वर्ष उमेरको क्षितिज नेपाली नाम र पोखरा ३ नदिपुर ठेगाना भएको लाइसेन्स भेटिएको छ । उनी अझै अचेत रहेको र परिवार सम्पर्कमा नआएकाले पुष्टि हुन नसकेको कास्की ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर भानु शर्माले गण्डकीन्यूजलाई जानकारी दिए ।
घाइते चालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
स्कुटर चालक पोखरा १३ बाँझापाटन घर भएका सुदीप गुरुङ सामान्य घाइते भएका छन् । उनी उपचार पछि घर फर्किसकेका छन् ।
स्कूटर, मोटरसाइकल र बससहित चालक धादिङ गल्छीका विकी मगरलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजारमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
राति पौने ११ बजे भएको घटनाको सीसीटीभी फुटेज हेर्ने काम भइरहेको प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-