Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

टिकटकबाट ठगी ! ७० हजार डलर र गिफ्ट पठाएँ भन्दै पाेखरेली महिलालाई यसरी ठगे [घटना विवरण]

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 January 6 मा प्रकाशित
टिकटकबाट ठगी ! ७० हजार डलर र गिफ्ट पठाएँ भन्दै पाेखरेली महिलालाई यसरी ठगे [घटना विवरण]
ShareTweetSend

बिहेपछि स्कटल्याण्ड जाने सपना बुनेकी युवतीसँग सम्पर्कपछि खुल्यो रहस्य

पोखरा । भाइबर, ईमो, ह्वाट्सएप् जस्ता सोसल प्लेटफर्म प्रयोग गरी ‘लट्री/चिठ्ठामा लाखौं, करोडौं परेको छ, प्राप्त गर्नका लागि केही रकम डिपोजिट गरिदिनुपर्छ’ भन्दै ठगी हुने गरेको घटना नौलो होइन । यसबाट पीडित बन्नेहरु जानाजान ठगिन पुगेका हुन् । विद्युतिय माध्यम प्रयोग हुने भएकाले कल डिटेल र लोकेशन अभावमा प्रहरीलाई समेत यस्तो केसमा विरलै सफलता मिल्छ । त्यसकारण पनि ठगी गर्ने गिरोहले नेपालभित्रै वा अझै बढि भारत र बाहिर देशमा रहेर यस्तो धन्दा फैलाएका छन् । भाइबर, ईमो, ह्वाट्सएपमा म्यासेज पठाएर, भ्वाईस म्यासेज छाडेर, कल गरेर लोभ देखाउँदै फसाउने उनीहरु अहिले टिकटकसमेत प्रयोग गर्दै ठगीधन्दा सुरु गरेको दृष्टान्त हामीसामु छ ।

पोखरामा एक महिला यसरी ठगिन पुगेकी छिन्, टिकटकबाट सुरु भएको टेन्सन २ पटकसम्म आत्महत्या प्रयाससम्म पुग्यो । उनकै कारण आत्मीय साथीसमेत अञ्जानमा फस्न पुगेकी छन् । तर, परिवारको साथले सम्हालिँदै आफ्नो ज्यान बचाएकी छन् । आफूसँग जोडिन आइपुगेका अरु महिलालाई ठगिन रोकेकी छन् । र, आम नागरिकलाई सुसूचित गर्न मिडियासमक्ष पनि खुलेकी छन् ।

यो एउटै घटनामा सबै ठगीका प्रकारहरु जोडिन पुगेको छ । ठग गिरोहले महिलाबाट पैसा लुट्न सफल भयो । झण्डै दर्जन बैंक खाता एटीएमसहित प्राप्त गर्न सक्यो । नेपालबाट सिमकार्ड लिन सक्यो । यहाँको एटीएम र सिमकार्ड भारतमासमेत चल्छ । यी महिलाले भोगेको यस घटनाबाट ‘साइबर/अनलाइन/इन्टरनेट स्क्याम’मा जानेबुझेकै मान्छे कसरी फस्न सक्छ ? आफ्नो बैंक खाता, आफ्नो नामको सिमकार्ड किन अरुलाई दिनुहुँदैन ? लट्री र गिफ्टलाई कतिको पत्याउने ? सबैको जवाफ मिल्छ ।

घटना विवरणः

टिकटक गफ

बाटुली (नाम परिवर्तन) को सानो र सुखी परिवार छ । अधवैंशे उमेरकी उनलाई नपुग्दो छैन । सन्तान सुख राम्रो छ । श्रीमानको राम्रो जागिर छ । आफू पनि स्वआर्जन हेतु व्यवसाय गर्छिन् । व्यवसायलाई सहयोग पुग्ने साथीसँगीको सल्लाहले लकडाउनबीचमा टिकटक खोलिन् । आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्ने सामाग्रीहरुको भिडियो बनाउन थालिन् ।

टिकटकको म्यासेज बक्समा ‘पिटर ईरिक’ नाम गरेका पुरुषको म्यासेज देखिन् । खोलेर हेर्दा ‘Good Morning’ लेखिएको थियो । ती पुरुषले डिसेम्बर १० (मंसीर २४) मा म्यासेज पठाएपनि उनले पछि मात्र देखिन् । बाटुलीले रिप्लाई दिनु अघि पिटरको प्रोफाइल हेरिन् । फोटोहरुमा दुई बच्चा लिएको, हेर्दा निकै प्रोफेशनल देखिएपछि उनले दिउँसोको समयमा पनि गुड मर्निङ ? भन्दै जवाफ फर्काइन् । पिटरले आफू यूकेको लिभरपुलमा बस्ने जवाफ फर्काए । बाटुलीलाई टुटेफुटे अंग्रेजी आउने भएकाले म्यासेज आदानप्रदान पहिलो दिन राम्रै भयो ।

पिटरले आमा ताईवानी, बुवा यूएस नागरिक, आफू लिभरपुल बस्ने, इन्टेरियर डिजाईनर रहेको, २ वर्ष अघि श्रीमती बितेको, २ बच्चाको सिंगल फादर हुँ भनेर आफूलाई परिचय दियो । बाटुलीले पनि आफू विवाहित, सन्तान रहेको, सानोतिनो व्यवसाय गर्ने भनेर चिनाईन् । बाटुली भन्छिन् – ‘म्यासेज आएको पनि थाहा थिएन । आएको रहेछ, हेरेँ, प्रोफेशनल लाग्यो । कौतुहलता लागेर जवाफ फर्काएँ । उसले श्रीमती बितेको, २ बच्चाहरुको सिंगल फादर हुँ भनेपछि मन पग्लियो । नराम्रो सोच केही होइन । उसले दुःख शेयर गरेकै कारण बोल्न थालेँ ।’

भोलिपल्टदेखि पिटरले बाटुलीलाई बच्चाहरुकै बारेमा सोध्थे । बाटुली आफू पनि बच्चाहरुकै कुरा गर्थिन् । एक दिन पिटरले म्यासेजमा डिसेम्बर सपिङ गर्न निस्किएको, बच्चाहरुलाई केही पठाइदिन्छु भनेर लेखे । बाटुलीले अस्विकार गरिन् । तर, पिटरले रिसाउँदै ‘मेरो गिफ्ट तिमी किन नलिने ? मैले पठाएको लिन हुन्न ? मैले नराम्रो सोच राखेको छैन’ भन्दै दबाब दिइरहे । पिटरले बाटुलीलाई टिकटकमा ब्लक गरे ।

बाटुलीको पसलमा उनकी साथी जुनेली (नाम परिवर्तन) आइरहन्थिन् । बाटुली र जुनेली मिल्ने साथी हुन् । ‘पठाइदिन्छ भने घरमै आउने गिफ्ट लिन के भो त ?’ भन्दै जुनेलीले बाटुलीलाई स्विकार गर्न सुझाव दिन्छिन् । केही समयपछि पिटरले अनब्लक गरी पुनः म्यासेज गर्छन् । ह्वाट्सएप नम्बर माग्छन् । बाटुलीले ह्वाट्सएप अकाउण्ट खोलेकी हुन्नन् । उनले पिटरको आग्रहपछि ह्वाट्सएप डाउनलोड गरी इन्स्टल गर्छिन् । पिटरले यूएसको नम्बर दिन्छन् । बाटुलीले नजानेपछि पिटर आफैले बाटुलीको नम्बर मागी एड् गर्छन् र कल गर्छन् । बाटुली पिटरको भाषा राम्ररी बुझ्दिनन् । फेरि, म्यासेजमार्फत् नै कुरा सुरु हुन्छ । गिफ्ट स्विकार्न पुनः एकोहोरो दबाब दिन थाल्छन् ।

आमा अस्पताल भर्ना भएको कारण राति कुर्न गएकी बाटुली ह्वाट्सएपमा पिटरसँग कुरा हुन थाल्छ । ५० हजार डलरको खामबन्दी, रातो रंगको आईफोन, राता फूलहरुको क्रिसमस गिफ्ट सबै तिम्रो लागि भनेर पिटरले फोटो पठाउन थाल्छन् । उनले आमालाई पनि गिफ्ट पठाउन लागेको कुरा शेयर गर्छिन् । भाइलाई पनि शेयर गर्छिन् । पढेलेखेका उनका भाइले गुगलमा ति फोटोहरु सिमिलर ईमेज भिडाउँछन् तर गुगल डाउनलोडेड फोटो नभएको निश्चित गर्छन् । बाटुलीले आफ्नो ठेगाना दिन्छिन् । दुई बीच कुरा निरन्तर भइरहन्छ । पिटरले एयरपोर्टमा छु, यसरी पठाएँ भनेर भिडियो पनि पठाउँछन् । बाटुलीले पत्याइन् ।

पैसा माग्ने श्रृंखला सुरु

अर्को दिन नेपाली नम्बरबाट बाटुलीलाई ह्वाट्सएप कल आउँछ । अंग्रेजी बोली नबुझेपछि म्यासेजमै कुरा हुन्छ । पिटर ईरिकबाट आएको सामान भनेपछि बाटुलीका छोराले अंग्रेजीमा कुरा गर्छ । ती पुरुषले ८५ हजार कुरिअर शुल्क भन्दै माग्छ । बाटुली अचम्म मान्छिन् । उताबाट ‘वेट अनुसारको चार्ज लाग्ने भन्दै पैसा नपठाए सामान फिर्ता पठाइदिने’ भन्छ । बाटुलीले पिटरसँग कुरा गर्छिन् । पिटरले आफू भिआईपी भएको र नेपाल, भारत, भुटान जस्ता देशका लागि आफ्नो कारोबार हुने कार्ड नभएको भन्दै कुरिअर चार्ज यतै दिन नसकेको बताउँछ । बाटुलीलाई आफू ठगीमा पर्ने शंका त्यतिबेलै लागेको हो तर पिटरले ‘५० हजार डलरका लागि ८५ हजार खर्च गर्न सक्दैन ?’ भनेर रिसाएपछि बाटुली दबाबमा पर्छिन् ।

बाटुलीले हाक्काहाक्की भनिन् ‘मलाई लोभ लागेकै हो । मान्छे हो, सबैलाई लाग्छ । उसले सबै फोटो भिडियो पठाएको थियो । कुरा भइरहेकै थियो । सबै विश्वास लाग्ने गरी भनेको थियो । यो (जुनेली) पनि म सँगै हुन्थिन् । अझ चुरा म लगाउँछु है भनिन् । खुशीले पसल पनि गइएन ।’ बाटुलीले एजेन्टले भने बमोजिम एभरेष्ट बैंकमा ढकाल थरकी महिलाको खातामा ८५ हजार रुपैंया आईएमई मार्फत् पठाईन् । उनले साथीहरूसँग २०, २५, ३० हजारका दरले पैसा मागेर पठाइन् । ठगिने सिलसिला यहाँबाट सुरु भयो ।

आफूले पठाएको पैसाको विवरण पिटरले माग्थे । उनले डिपोजिट भौचर फोटो खिचेर पठाउँथिन् । ८५ हजार पठाइसकेपछि पोखरा एयरपोर्टमा सामान आउँछ भनेर भनेको एजेन्टले पुनः ह्वाट्सएपमा सन्देश छाडे । सन्देशको सार यस्तो थियो – ‘तपाईंलाई डलर पठाएको रहेछ । पचासौं लाखको यति ठूलो रकम यसरी भित्राउन मिल्दैन । मनी लाउन्डरिङ केसमा फस्नुहुन्छ । अब यहाँ भन्सारबाट छिराउन १ लाख ३० हजार पठाउनुस्, सबैलाई घुस खुवाउनुपर्छ ।’

अवैध डलर कारोबारमा फस्ने डरले बाटुली तर्सिन् । बरु गिफ्ट चाहिएन, यस्तो काममा फस्नुभन्दा थप पैसा नपठाउने निचोडमा उनी पुगिन् । उनले पिटरलाई सो कुरा भनेपछि पिटरले पनि ‘त्यति रकमले किन अड्किन्छौ ?’ भन्दै आश्वस्त तुल्याए । बाटुलीले बहिनी ज्वाईंसँग मागेर एभरेष्ट बैंककै ढकालको खातामा १ लाख ३० हजार हालिदिइन् । यो गत पुस १, ०७८ को कुरा हो ।

यद्यपी, ति खातावाल ढकाल महिला को हुन् भनेर बाटुलीले बुझ्न नचाहेकी भने होइनन् । बैंकले अरुको खाता विवरण दिन नमिल्ने बतायो । स्याङ्जाको मान्छे र काठमाण्डौबाट खोलिएको भन्ने मात्र थाहा भयो । बाटुलीले पनि एजेण्ट काठमाण्डौमै भएकाले आफन्त होला भन्ने सोचिन् ।

बाटुलीले ८५ हजार र १ लाख ३० हजार गरी २ पटकसम्म ढकाल महिलाको नाममा एभरेष्ट बैंकमा पैसा डिपोजिट गरिसकेकी थिइन् । अब पोखरा एयरपोर्टमै सामान झर्ने आशमा बाटुली कुरिरहिन् । फेरि, एजेण्टले ‘भन्सारका ठूलो अफिसर मानेनन् ३ लाख ३० हजार पठाइदिनू’ भन्यो । अब बाटुली रनभूल्लमा परिन् । उनले घरमा श्रीमानलाई पनि भनिन् । परिवार र साथी जुनेली पूर्ण जानकार थिए । बाटुलीले ‘अब पैसा हाल्न सक्दिनँ, मेरो उपाय छैन’ भनेपछि एजेण्टले डलर कारोबारमा फसाइदिने भने । पिटरलाई भन्दा ‘७० हजार डलर आउँदैछ, किन यति खर्च गर्न डराएको ?’ भनेर दबाब दिने । यसकारण बाटुली बिलखबन्दमा परिन् ।

पहिले माछापुच्छ्रे बैंकमा गएर हाल्न भन्यो । उनी गईन् । पछि फेरि महालक्ष्मी विकास बैंकमा डिपोजिट गर्न भने । उनले भट्टको नाममा रहेको खातामा २ लाख जम्मा गरिदिइन् । नेपाल ईन्भेस्टमेन्ट बैंकमा भट्टकै नाममा रहेको खातामा १ लाख डिपोजिट गर्न भन्यो । उनले गरिदिइन् । यतिन्जेल उनले ५ लाख १५ हजार पठाइसकिन् ।

‘अब ठूलो अफिसर माने, आज ५ बज्यो भोलि सामान छुट्छ’ भनेको एजेन्टले भोलिपल्ट उल्टै ‘अब विषय एकदमै जटिल भयो, ५० हजार डलर खामबन्दीसहित १० हजार डलर गिफ्ट भित्र, अर्को १० हजार डलर पनि रहेकाले ठूलो रकमले गाह्रो भयो’ भन्दै थप ५ लाख ५० हजार पठाउन भन्यो । बाटुली अब के गरौं, कसो गरौं, कता जाऔं हुन थालिन् । २ दिन कुरै नगरी बसिन् । पिटरसँग कुरा हुँदा पठाइदेउ मात्र भन्थे । बाटुलीले अब पुलिसकोमा जान्छु भनेर धम्क्याउँदा एजेन्ट भन्ने पुरुषले ‘प्रहरी त हामी पठाउँछौं, अवैध डलर कारोबार गर्ने ?’ भनेर उल्टै धम्की दिन थाले । ‘कुरिअर ठेगाना छँदैछ, तेरो घरमा प्रहरी आइहाल्छ’ भनेर टर्चर दिन थाले ।

बाटुली अब साढे ५ लाख पठाउने हालतमा थिइनन् । उनले पिटरलाई सुनाइन् । पिटरले यूएईको साथीले साढे २ लाख पठाइदियो, ३ लाख पठाउन भन्यो । बाटुलीले साढे २ लाख पठाएको डिटेल खोई ? म हेर्छु भनेर सोधिन्, पिटरले उल्टै झपारे । त्यसपछि उनले भट्ट थर भएकी युवतीको नाममा रहेको एभरेस्ट बैंकको खातामा २ लाख ३० हजार डिपोजिट गरिदिइन् । ढकाल महिलाको नाममा रहेको कुमारी बैंकको खातामा १ लाख जम्मा गरिदिइन् । १३ पुससम्ममा बाटुलीले आठ लाख ७५ हजार रुपैंया जम्मा गरिन् ।

बैंक खाता र सिम कार्ड दुरुपयोग धन्दा

सुरुमा गिफ्टकै आशमा पैसा पठाएकी बाटुली दोस्रो पटकदेखि नै दबाबमा परिन् । अवैध डलर कारोबारमा फस्ने डरले नै रकम पठाउन बाध्य भइन् । अब यी महिलाबाट थप रकम आउँदैन भन्ने भएपछि ठग गिरोह बैंक खाता र सिमकार्ड धन्दातिर लागे । बाटुलीलाई नराम्ररी उनीहरुले प्रयोग गरे ।

त्यति धेरै रकम पठाएर पनि सामान आइपुगेन । रकम ठूलो भयो अब बैंक खातामै डिपोजिट हुन्छ भन्दै एकैपटक ४ वटा खाता नम्बर पठाउन भनियो । बाटुलीले पूरानो खाता छ भन्दा पनि उनीहरु मानेनन् । पूरानो खातामा नयाँ मोबाइल नम्बर झिकेर चेञ्ज गरेपछि मात्र हुन्छ भने ।

बाटुलीले छोरोको नाममासमेत खोलेर एभरेष्ट, एसबीआई, एनआईसी एशिया, माछापुच्छ्रे बैंकका ४ वटा खाता पठाइदिइन् । सिम कार्ड, एटिएम, चेकबुक दिल्लीमा पुनित कुमारको नाममा कुरिअर गर्न भने । उनी नजिकै कुरिअरमा पुगिन् । कुरिअर सञ्चालकले यसरी बैंक खाता, एटीएम, सिम नपठाउन सुझाव पनि दिए । तर बाटुली धेरै रकम फसिसकेकाले पछाडि फर्कने ठाउँ छैन साेच्दै कुरै नसुनी अघि बढिन् । मागे बमोजिम सबै पठाइदिइन् ।

सामान पाएको र अब पिनकोड दिन भनेपछि बाटुली झस्किइन् । उनले जिरो ब्यालेन्सको खाता, पासवर्ड विनाको एटीएम त हो भनेर पठाएकी थिइन् । बाटुलीले नदिने भनेपछि ठूलो रकम कारोबार भएकै कारण यति धेरै खाताहरु खोल्न परेको भनेर फेरि विश्वस्त तुल्याए ।

क्रिसमसको बेलातिरबाट सुरु भएको बाटुलीको दौडधुप रोकिएन । यही चक्करमा उनको दिनहरु बित्न थाले । बाटुलीले शंका लागेर आफूले पठाएको सिम समेत हरायो भनेर अर्को सिम लिएर मोबाइलमा हालिन् । पैसा डिपोजिट हुने, झिक्ने क्रम चलिरह्यो । उनको मोबाइलमा म्यासेज आइरह्यो । एजेण्टले रकम आउने प्रक्रिया सुरु भएको छ भनिरहे । उनलाई विश्वास लाग्यो ।

अनि जोडिइन् साथी ‘जुनेली’

फेरि २ वटा बैंकको खाता बनाउन भनियो । एनआईसी र कामना विकास बैंकको खाता खोलेर खाता नम्बर पठाइन् । एनआईसी एशियाको एटीएम एक्टिभ नगरी पठाएकाले फिर्ता आयो । यसबारे सम्पूर्ण जानकारी साथी जुनेलीलाई भएकाले जुनेली आफ्नै खाता नम्बर दिन राजी भइन् । एसबीआई र एनआईशी एशियाको बैंक खाता पुनः पठाए । पिटरले आफ्नो आमा, आफन्त जसको छ उसकै दिन पनि सुझाए । कुरिअर पठाउने सञ्चालक दंग पर्दै बाटुलीलाई फस्लाउ है, मलाई पनि अफ्ठेरो पार्छौ के रे भनिरहन्थे ।

त्यत्रो रकम पठाउँदा पनि अझै पैसा आएन । पिटरले आफू ईण्डिया आएको बतायो । टेण्डर परेर आएको, मोबाइल फुटेकाले सामसुङ ग्यालेक्सी जेड फोल्ड टु मोडलको दुई लाख बढी मूल्यको मोबाइल पठाइदिन भने । उनले आफूसँग त्यति रकम नभएको बताएपछि पिटर फेरि रिसाउन थाले । बाटुलीले जुनेलीको छोरीको ५० हजारको ट्याब छ, पठाइदिउँ ? भन्दा पिटरले आफूलाई १ लाख भन्दा तलको मोबाइलले काम गर्न नमिल्ने जवाफ दिए ।

बाटुलीको दिमागले अब काम गर्न छाड्यो । त्यसमाथि, झण्डै दर्जन बैंक खाता, एटिएम, सिम पठाएर फसिने चिन्ता थियो । बाटुलीले आत्महत्या प्रयास गरिन् । श्रीमानले गर्दा बाँचिन् । पोखराको सभागृहमा स्कुटर बाटैमा छाडेर ट्रक भित्र पस्नेसमेत सोचिन् ।

स्कटल्याण्ड जाने आशमा बसेकी पिटरकी गलफ्रेण्डको ईन्ट्री

एजेन्टको भर परेर बसिरहेकी बाटुलीको फेसबुक म्यासेजमा अपरिचित युवती देखिइन् । झापाकी रिजाल थरकी ति युवतीले एसबीआईको खाता नम्बर लेख्दै तपाईंको हो भनेर सोधिन् । बाटुलीले आफ्नो ठम्याइन् । ब्वाईफ्रेण्डले पठाएको सामान भारतमा अड्किएकाले यो खाता नम्बरमा पैसा हालिदिनु भनेको बताइन् । ति युवतीले बैंक खाताको नाम र पोखराको भन्ने थाहा पाएर फेसबुक सर्च गरेर म्यासेज पठाएको बताइन् ।
युवतीको कुरा सुन्ने वित्तिकै बाटुली छाँगाबाट खसेजस्तै भइन् । उनले स्याङ्जाकी ढकाल थरकी महिलाको खातामा पनि यसरी नै पैसा जम्मा गरेर यो हालतमा पुगेकी थिइन् । आफू फसे पनि ती युवती नफसुन् भनेर बाटुलीले सबै कहानी भन्ने प्रयास गरिन् तर ति युवती उल्टै रिसाईन् । तत्काल युवतीलाई फोन गरी बाटुलीले घटनाबारे बेलिविस्तार लगाइन् ।

युवतीले आफू गलफ्रेण्ड रहेको, विहेपछि स्कटल्याण्ड जाने भन्दै बाटुलीको कुरा पत्याइनन् । सबै स्क्रिनसट पठाएपछि मात्र ति युवती पनि निन्द्राबाट ब्युँझे झैं भइन् । बाटुलीलाई जुन फर्मुला लगाएर ठगिएको थियो, उनलाई ठग्ने क्रम सुरु भएको थियो । ति युवती बाटुलीकै कारण ठगिनबाट बचिन् । बाटुलीले पैसा हालेको खातावालहरु ढकाल र भट्टलाई सम्भवतः आफ्नो बैंक खाता प्रयोग भएको थाहा नहुन पनि सक्छ ।

गलफ्रेण्ड भनिएकी युवतीले फेसबुक सर्च गरेर आफूले कसको खातामा पैसा हाल्दैछु भन्ने बुझ्न नचाहेकी भए बाटुलीसँग कुरा हुँदैनथ्यो र उनी पनि फस्न पुग्थिन् । बैंक खाता प्रयोग मात्र होइन, दुरुपयोग नै भएको छ । बाटुलीकी साथी जुनेलीको खाता दुरुपयोग गरिएको छ । जुनेलीको खाता दुरुपयोग सम्बन्धमा प्रहरीमा रिपोर्ट नै परिसकेको छ । ढिला नगरी बाटुलीले सबै बैंकखाता बन्द गर्न गइन् । एभरेष्ट बैंकको अमरसिंह शाखाको खातामा भने रिपोर्ट परेर बन्द भइसकेको जानकारी पाइन् । बाटुलीलाई अझै थाहा छैन, आफ्नो खाताबाट कति कारोबार भयो ? कसले के गरे ?

आफूलाई सघाउँदा ‘जुनेली’ फसेकोमा उनलाई दुःख छ । जुनेलीलाई कानुनी कारबाही भएमा आफै व्यहोर्ने भन्दै उनी सँगै छिन् ।

लट्री/चिठ्ठा/उपहारको प्रलोभनमा नफसौं, साइबर टुल्स प्रयोगले ठगहरुसम्म पुग्न चुनौती छः तिवारी

बाटुलीले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार निवेदन दिएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले पीडित महिलाको लिखित निवेदन परेको जानकारी दिए ।

ठग्ने व्यक्ति भारतमा बसेर नेपाल र अमेरिकाको ह्वाट्सएप् नम्बर प्रयोग गर्दै हितैषी र एजेन्ट बनेर ठगेको देखिएको उनले बताए । डिएसपी तिवारीले जानी नजानी पढेबुझेका र अलि अलि साक्षर सबै ठगिन पुगेको भन्दै डिपोजिट गराउन प्रयोग गरिएका खाताका व्यक्ति स्वयं आफैँ ठगिएकाले पनि अफ्ठेरो परेको बताए ।

यस सम्बन्धमा विभिन्न चरणमा अनुसन्धान गर्दै यसमा संलग्न व्यक्तिहरूको अन्तिम पहिचान गर्ने कार्य चुनौती पूर्णरहेको उनको भनाई छ । कल डिटेल्स हेर्न नमिल्ने, लोकेशन ट्रयाक हुन नसक्ने गरी सामाजिक सञ्जालमात्रै प्रयोग गरेर धेरै नेपाली ठगिरहेको उनले बताए । यस्ता दर्जनौ केसहरु आएको पनि उनले खुलाए ।

डिएसपी तिवारीले सामाजिक सञ्जालहरु भाइबर, ईमो, ह्वाट्सएप, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल तथा मोबाइलमा आउने विदेशी अपरिचित नम्बर, स्पाम कलहरुमार्फत् हुने प्रलोभनमा नपर्न र ठगीको आभाष भए तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तास खेलिरहेका पाँच जना नगदसहित पक्राउ
गण्डकी क्षेत्र

तास खेलिरहेका पाँच जना नगदसहित पक्राउ

by राम बहादुर रोकाहा
2025 August 27 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
अपराध/सुरक्षा

स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश
गण्डकी क्षेत्र

फैसला कार्यान्वयनमा कडाइ: फरार कसूरदार पक्राउ, जरिवाना असुली

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल
गण्डकी क्षेत्र

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 August 25 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
अपराध/सुरक्षा

वालिङ कुटपिट प्रकरण : प्रहरीले अनुसन्धान तीव्र बनायो, थप छ जना पक्राउ

by राम बहादुर रोकाहा
2025 August 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तास खेलिरहेका पाँच जना नगदसहित पक्राउ

तास खेलिरहेका पाँच जना नगदसहित पक्राउ

2025 August 27 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवक पक्राउ

2025 August 26 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश

फैसला कार्यान्वयनमा कडाइ: फरार कसूरदार पक्राउ, जरिवाना असुली

2025 August 26 मा प्रकाशित
वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

2025 August 26 मा प्रकाशित
स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ

स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ

2025 August 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews